
काठमाडौं । भदौ १० गते रसुवाको भोटेकोशी र त्रिशूली नदी हुँदै आएको बाढीबाट पाँच जिल्लाका ४९ वटा वडा प्रभावित भएका छन् । जसमध्ये रसुवाका ४ वटा गाउँपालिका उत्तरगया, गोसाईंकुण्ड, आमाछेदिङमो र कालिका गाउँपालिकाका ११ वटा वडा प्रभावित भएका छन् । सबैभन्दा धेरै उत्तरगया गाउँपालिकाका ५ वटा (सबै) वडा प्रभावित भएका छन् ।
त्यस्तै गोसाईंकुण्ड गाउँपालिका ४ वटा वडा र आमाछोदिङमोका एक एक वटा पालिका प्रभावित भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । त्यस्तै, नुवाकोटका चार वटा स्थानीय तह (तारकेश्वर, किस्पाङ, विदुर नगरपालिका, बेलकोटगढी नगरपालिकाका ११ वटा वडा प्रभावित भएका छन् ।
धादिङका गल्छी, गजुरी, बेनिघाट रोराङ र सिद्धलेकका गरी १८ वटा वडा प्रभावित भएका छन् भने गोरखाको गण्डकी गाउँपालिकाका ५, तनहुँका देवघाट र आँबुखैरिनी गरी ४ वटा वडा प्रभावित भएका छन् ।
सरकारले ५ जिल्लाका १५ स्थानीय तहलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिसकेको छ । बाढीबाट ९ सय ३ जनाको मृत्यु भैसकेको छ भने ४ हजार २४७ बेपत्ता छन् । यद्यपि, यो तथ्याङ्क अझै बढ्न सक्ने अनुमान गरिएको छ ।















