Logo
Logo

तीन सांसदले फिर्ता लिए अविश्वासको प्रस्ताव, मुख्यमन्त्री राईलाई अझै सहज छैन


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ५ माघ । नेकपाभित्र देखिएको विवादका कारण प्रदेश १ सरकारमा मडारिएको कालो बादल तत्काललाई हटेको छ । मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका तीन सांसदले हस्ताक्षर फिर्ता लिएसँगै तत्कालका लागि प्रदेश १ सरकारमा देखिएको अन्योल हटेको हो । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने तीन सांसदले हस्ताक्षर फिर्ता लिएका छन् । प्रदेश १ का सांसद जसमाया गजमेर, गोपालचन्द्र बुढाथोकी र श्रीप्रसाद मैनालीले आफ्नो हस्ताक्षर फिर्ता लिएसँगै तत्कालका लागि राईको नेतृत्वमा गठन गरिएको सरकार ढल्ने सम्भावना हटेको छ ।

अविश्वासको प्रस्तावबाट हस्ताक्षर फिर्ता लिएको पत्र

प्रदेश सभा सचिवालयमा सामूहिक निवेद दिँदै सांसद त्रयले अविश्वासको प्रस्ताव दर्ता गर्न उपयुक्त नठानेको भन्दै फिर्ता लिएको घोषणा गरेका हुन् । यसअघि, सांसद बसन्ती यादव र कला घलेले अविश्वासको प्रस्तावविरुद्धको हस्ताक्षर फिर्ता लिएका थिए । थप ३ जनाले हस्ताक्षर फिर्ता लिएपछि अविश्वास प्रस्तावको निर्णयमा कायम रहने सांसद संख्या ३२ भएको छ ।  ९३ सदस्यीय प्रदेशसभामा नेकपाको ६७ सिट रहेको छ । १२ पुसमा भीम आचार्यलाई मुख्यमन्त्री बनाउन माग गर्दै प्रदेश १ का ३७ सांसदले मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । प्रस्ताव दर्ता भएपछि मुख्यमन्त्री राईले प्रस्तावको सामना गर्ने बताएका थिए । अब अविश्वासको प्रस्ताव पारित गराउन वा सरकारको समर्थनका लागि कांग्रेसको साथ भने लिनुपर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्