Logo
Logo

षड्यन्त्रभित्रको षड्यन्त्र


- शम्भु श्रेष्ठ


प्रतिगमन भनेको
एम्बुलेन्स होइन, महोदय
शव–वाहन हो ।
शव–वाहन चढेपछि
अस्पताल पुगिँदैन
आर्यघाट पुगिन्छ !!

विजय पौडेलको ‘फेसबुक’ वालमा कवि अर्जुन पराजुलीको यो कविता पढेर मलाई २०६२/६३ सालको जनआन्दोलनको झल्को आयो । त्यतिबेला निरंकुश राजतन्त्रको विरुद्ध लाखौं जनता सकडमा ओर्लिएका थिए ।

सडकमा ओर्लिएका लाखौं जनतालाई कवि पराजुलीले यस्तै कवितामार्फत सम्बोधन गर्थे । अन्ततः लाखौं जनताको आन्दोलनले निरंकुश राजतन्त्रको जरा उखेलेर फाल्यो र देशमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भयो ।

त्यतिबेला सचेत नागरिकले यो देशमा राजतन्त्र भएसम्म लोकतन्त्र फस्टाउन दिँदैन, त्यसैले यो देशबाट सदाका लागि राजतन्त्र अन्त्य हुनुपर्छ भन्ने मान्यता राख्थे । अन्ततः जनताको आन्दोलनले राजतन्त्र समाप्त भयो । आम नागरिकमा पलाएको यो चेतनाको जगमा अहिले हामी उभिएका छौं ।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२ जारी भएको पाँच वर्ष बित्दैछ । त्यो संविधानको पूर्णकार्यान्वयन अझै भएको छैन । शान्ति, स्थिरता र आर्थिक समृद्धिका लागि नेपाली जनताले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई दुईतिहाइ मत दिएका हुन् ।

नेकपा सरकारको प्रमुख दायित्व संविधान कार्यान्वयन गर्दै मुलुकलाई आर्थिक समृद्धिको बाटोमा डोहो¥याउनु हो । तर, दुर्भाग्य प्रतिनिधिसभामा दुईतिहाइ मत भएको पार्टीका प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा भंग गरे । संविधानले कल्पना नै नगरेको अवस्थामा देशलाई पुर्याए ।

यस घटनाबाट सिंगो नेपाली जनता आक्रोशित बनेका छन् । संसद्मा प्रतिनिधित्व गर्ने सबै दल संसद् पुनःस्थापनाको मागलाई लिएर सडक आन्दोलन गरिरहेका छन् । यो जनताको आन्दोलनलाई प्रधानमन्त्रीले बालुवाटारमा बसेर जिस्क्याइरहेका छन् ।

वैशाखमा निर्वाचन नगरेर संकटकाल लगाउने षड्यन्त्र हो । त्यसपछि मंसिरसम्म आफ्नो सत्ता टिकाउने खेल हो । मंसिरमा पनि निर्वाचन नगराएर मुलुकमा अस्थिरता निम्त्याउने खेल हो । प्रतिगामी र पुनःउत्थानवादीसँग मिलेर यो संविधान धुजाधुजा पार्ने षड्यन्त्र हो । ओलीको यो षड्यन्त्रलाई समयमै घुँडा टेकाउन सकिएन भने हेर्दाहेर्दै लोकतन्त्र जलेर खरानी बन्नेछ ।

प्रतिगमनको पक्षमा देशभर सभा, समारोहको आयोजना गरेर मरिचमान प्रवृत्ति दोहोर्याइरहेका छन् । प्रतिगमन र पुनःउत्थानवादी तत्वलाई उस्क्याइरहेका छन् । र, भन्दैछन्– नयाँ जनादेशमा जानु नै लोकतान्त्रिक विधि हो ।

लोकतान्त्रिक विधि भन्दैमा आफूलाई जहिले मन लाग्यो, त्यतिबेला निर्वाचन गर्न संविधानले दिएको छ र ? यस्तो अवस्था नआओस् भनेर आफैँले हरेक पाँच-पाँच वर्षमा प्रतिनिधिसभाको निर्वाचन गर्ने भनेर संविधानमा लेखेको होइन र ? त्यसमाथि प्रतिनिधिसभामा आफैँसँग दुईतिहाइको मत छ । त्यो मतको दुरुपयोग गर्ने अधिकार संविधानले प्रधानमन्त्रीलाई दिएको छ र ? संविधानले त संसद्मा विकल्प भएसम्म प्रधानमन्त्रीले संसद् विघटन गर्न पाउँदैनन् भनेको छ ।

यो जनता झुक्याउने कुरा हो । वैशाखमा निर्वाचन नगरेर संकटकाल लगाउने षड्यन्त्र हो । त्यसपछि मंसिरसम्म आफ्नो सत्ता टिकाउने खेल हो । मंसिरमा पनि निर्वाचन नगराएर मुलुकमा अस्थिरता निम्त्याउने खेल हो । प्रतिगामी र पुनःउत्थानवादीसँग मिलेर यो संविधान धुजाधुजा पार्ने षड्यन्त्र हो ।

ओलीको यो षड्यन्त्रलाई समयमै घुँडा टेकाउन सकिएन भने हेर्दाहेर्दै लोकतन्त्र जलेर खरानी बन्नेछ । त्यसैले कवि पराजुलीले आम जनतालाई सचेत गराउँदै शव वाहनमा चढेर आर्यघाट नजान कवितामार्फत आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्