Logo
Logo

‘तामझामले होइन, कलाले स्टार हुने हो’


मिलन लिम्बू


काठमाडौं । जुन समय सामाजिक सञ्जालको समय थिएन । एक्पोजको माध्यम कम थिए । गाउँका थोरै घरमा टेलिभिजन र अलि धेरै रेडियो हुन्थ्यो । रेडियो नेपालबाट प्रशारण हुने गीत सुनेर, आक्कल झुक्कल टेलिभजन हेरेर गुनगुनाउन सिक्दै थिए, नेपाली तारा सिजन २ का विजेता सन्तोष लामा ।

२०५३/५४ सालतिर सन्तोष धादिङका गाउँबेसीमा रेडियोझैँ गुन्जन थालेका थिए । विस्तारै साथीभाइको हौसला बटुल्दै गए । हौसला पाउन थालेका सन्तोषलाई विस्तारै काठमाडौंले तान्न थाल्यो । जुन समय नेपालमा गायन प्रतियोगीताले आकार लिन थालेको थियो ।

नेपाली तारा हुनु अगाडिका केही गायन प्रतियोगीतामा सहभागी भएका सन्तोष पहिलो सिजनको नेपाली तारामा उत्कृष्ट २० बाट बाहिरिए । तर, विजेता बन्ने हुटहुटीले छोडेन । सन २००७ मा नेपाली ताराको दोस्रो सिजनमार्फत सन्तोषले आफ्नो इच्छा पूरा गरे, नेपाली ताराको रुपमा । त्यसपछि सन्तोषको व्यवसायीक गायन जीवन सुरु भयो ।

सामान्य जीवनबाट ‘स्टार’ बन्नु सामान्य थिएन । नेपाली तारा बन्नु ठूलो सफलता थियो, तर त्यो भन्दा ठूलो चुनौती स्रोता दर्शकको अपेक्षा । स्थापित गीत गाएर प्रतिस्पर्धामा स्रोता दर्शकको मन जित्नु जति सहज थियो, आफ्नै सिर्जनाले स्थापित हुनु त्यति नै गाह्रो ।

सन्तोष भन्छन्– ‘नेपाली तारा हुँदा २२ वर्षको थिए । आगामी दिन झन् चुनौतीपूर्ण छ भन्ने मलाई थाहा थियो । त्यसैले नेपाली तारा हुँदा शिखर चुमेको भन्दा पनि चुनौतीको पहाड बोकेको अनुभूत गरेँ ।’

उपाधिपछिको अवस्था
आधारभूत वर्गका सन्तोषलाई रातारात पाएको उपाधि ठूलै थियो । तर, पनि नेपाली तारा हुँदा शिखरमै पुगे भन्ने लागेको थिएन । भन्छन्– ‘भोली दुःख छँदैछ भन्ने थाहा थियो ।

प्रतिस्पर्धाको बेला भएको आक्रामक प्रचारले दुनियाँमा चिनाएको त थियो तर यो सधैँ रहँदैन भन्नेमा जानकार थिए । त्यसैले म आफैँलाई सामान्य अवस्थामै राख्न सकेँ ।’

उपाधि जितेपछि संगीत बजारले चिन्यो । चिनिएपछि काम गर्न सजिलो हुन्छ भन्ने लाग्नु स्वभाविक थियो । आफ्नै एल्बम बजारमा आएपछि अझ धेरै माया पाइन्छ भन्ने लागेको थियो । तर, नेपाली तारा भएपछि आफ्नै एल्बम ल्याउन मात्र तीन वर्ष लाग्यो । उनी भन्छन्– ‘त्यो तीन वर्ष मेरो जीवनको सबैभन्दा पीडाको समय थियो ।’

नेपाली तारा भएको एक वर्ष आयोजककै घेरामा बित्यो । त्यो समय देश विदेशबाट आएको धेरै निम्तोमा जान सकेनन् । ‘बोलाएका ठाउँमा जान नसकेपछि धेरैले सन्तोष घमण्डी भयो भने’, उनी सुनाउँछन् ।

एक वर्ष आयोजकसँग गुजारेपछि स्वतन्त्र रुपमा संघर्षमा उत्रेका सन्तोषले झनै दुःख पाए । एल्बमको तयारी पूरा त भयो तर, म्युजिक कम्पनीहरुले उत्तिकै दुःख दिए । सबै गीत तयार भए पनि गीत थपेर ल्याउ, फेरेर ल्याउ भन्दै म्युजिक कम्पनीहरुले दुःख दिइरहे ।

गीत थपेर तयार पार्दासम्ममा कति कम्पनी नै उडे । यसरी एउटा एल्बम तयार पार्न एक स्टारलाई तीन वर्ष लाग्यो । उनी भन्छन्– ‘नेपाली तारा भएर संगीत क्षेत्रमा चिनिए पनि भोग्नु परेको यो तीतो अनुभूती हो ।’

दर्शक स्रोताले हेर्दा तामझाम देखिन्छ । स्टार लाइफ देखिन्छ, त्यो आफ्नै ठाउँमा छ । मुख्य कुरा व्यवहारिक पक्ष हो । जीवन चलाउने र करिअर बनाउने भन्ने कुराचाहिँ सञ्चार माध्यममा देखिएको जस्तो हुँदैन । बिल्कुलै फरक हुन्छ । स्टार भनेर आफूलाई तामझाम देखाउनु र वास्ताविकतामा बाँच्नु फरक हुन्छ ।

नेपाली तारा बनेपछिको ज्ञान
नेपाली तारा भएपछि सन्तोषलाई लागेको थियो– ‘नेपाली ताराजस्तो उपाधि पाएको छु । अब मेरो काँधमा नेपाली गीत संगीतलाई अन्तर्राष्ट्रियस्तरमा लैजानुपर्छ भन्ने थियो ।’ तर, उनको बुझाइ र वास्ताविकता त्यस्तो रहेन ।

संगीत क्षेत्रमा टिक्नु पहिलो कुरा बन्यो, उनले पछि बुझे । उनी भन्छन्– ‘मैले पछि बुझेँ ठूलो कुरा तर, नेपाली संगीत क्षेत्रमा टिक्नु रहेछ । सर्वसाधारले रुचाउने हल्काफुल्का, क्याची, गुनगुनाउन सजिलो गीत संगीत रहेछ ।’

बजारमा चल्ने हल्काफुल्का गीत निकाल्ने कि गुणस्तरमा ध्यान दिने भन्ने विषयले सन्तोष दोधारमा थिए । बजार मात्र हेरेर तयार पारिने गीतले संगीत क्षेत्रलाई योगदान पुग्दैन, राम्रो गीत बनाउन खोज्दा जीवन धान्न मुस्किल हुन्छ, नेपाली तारा भएपछि सन्तोषले बुझेको कुरा हो ।

सन्तोष भन्छन्– ‘नेपाली गीत संगीत क्षेत्रलाई टेवा पुर्याउने भनेको गहन गीत संगीतले हो । त्यसबाट भावी पुस्तालाई केही सिक्ने अवसर मिल्छ । यस्तो गीत बनाउन सकियोस् भन्ने लागेको थियो । सोहीअनुसार बजारमा चल्नेभन्दा पनि भावी पुस्ताले केही सिक्न सकोस् भन्ने उद्देश्यले साधनामा जुटे ।’

बाँचेर उपाधि बचाउन गाह्रो
उपाधि चुमेर शिखर पुगेका ‘स्टार’हरुलाई त्यो उपाधि जोगाइराख्नु मुख्य चुनौती हो । पर्दामा देखिएझैँ साँच्चिकै स्टारको जिन्दगी चमकधमक होला ? सन्तोषको भागाई–

दर्शक स्रोताले हेर्दा तामझाम देखिन्छ । स्टार लाइफ देखिन्छ, त्यो आफ्नै ठाउँमा छ । मुख्य कुरा व्यवहारिक पक्ष हो । जीवन चलाउने र करिअर बनाउने भन्ने कुराचाहिँ सञ्चार माध्यममा देखिएको जस्तो हुँदैन ।

बिल्कुलै फरक हुन्छ । स्टार भनेर आफूलाई तामझाम देखाउनु र वास्ताविकतामा बाँच्नु फरक हुन्छ । स्रोता दर्शकले स्टारलाई तामझाम नै अपेक्षा गर्छन् । तर, सधै तामझाम व्यवहारीक रुपमा सम्भव हुँदैन । आफू बाँचेर उपाधि बचाउनु राख्नुजस्तो चुनौतीपूर्ण काम अरु हुँदैन ।

स्टार बन्ने कि आर्टिस्ट बन्ने आफूमा निर्भर हुने कुरा हो । स्टार बन्नका लागि कुनै आर्टमा पोख्त त हुनैपर्छ । ‘यो आर्टको स्टार हो है’ भनेर स्रोता दर्शकसामु सावित गर्नुपर्छ । उपाधि जितेपछिको मुख्य चुनौती यो नै हो । यो चुनौती अहिलेसम्म सामना गर्नु परेको छ ।

आर्ट र व्यवहारिक पाटोलाई सँगै लान सकियो भनेमात्र उपाधिको गरिमा बचाउन सकिन्छ ।’ धैर्यता चाहिन्छ । राम्रो काम गर्छु र व्यवहारीक पक्षलाई पनि राम्रो बनाउँछु भन्ने हो भने धैर्यता चाहिन्छ । ‘आज र भोली नै म किन हिट भएन ?’ भन्ने लाग्यो भने त्यसले सही ठाउँमा पुर्याउँदैन ।

आफ्नै समिक्षा
म कतिको बिकेको छु, म कति बिकाउ छु ? त्यो अर्कै पाटो हो । म आफुलाई एकदम बिकाउ बनाएर लान चाहे भने सक्छु । त्यो ठूलो कुरा होइन । तर, म आम स्रोता दर्शकको चाहनाअनुसार काम गर्न सक्छु कि सक्दिनँ भन्ने कुरा महत्वपूर्ण हो ।

बजारमा बिक्नेभन्दा पनि नेपाली गीत संगीत क्षेत्रलाई भविश्यमा केही होस् भन्ने हेतुले काम गरिरहेको छु । त्यसैले म जहाँ छु ठीक ठाउँमा छु । स्रोता दर्शकको मुल्याङ्कन आफ्नै ठाउँमा छ । म आफुलाई राम्रो गायकको रुपमा लिन्छु । त्यो मैले प्रमाणित गर्नुपर्ने हुन्छ, त्यसका लागि म सधैँ प्रयत्न गरिरहेको हुन्छु ।

करिअर
त्यो समयको बहुचर्चित उपाधि चुमेर चर्चाको शिखरमा पुगेका सान्तोष लामाले ३ सयभन्दा बढी गीत गाएका छन् । उनले तीन वटा एल्बम बजारमा ल्याइसकेका छन् । बटुवा–२०१०, अम्बर–२०१३ र अक्षता–२०१४ मा सार्वजनिक भएका सन्तोषका एल्बम हुन् ।

वर्तमान बजारसँगबारे–
समयअनुसार स्रोता दर्शकको चाहना फेरिन्छ । तर, हामीले दिने वस्तुलाई हेरेर, सुनेर हामीलाई मुल्याङ्कन गर्ने हो । टिकटकमा हिट बनाउने १५ सेकेन्डको गीतले नेपाली संगीत क्षेत्रलाई टेवा पुर्याउँछ कि पुर्याउँदैन भन्ने महत्वपूर्ण कुरा हो ।

यदी हामीले संगीत क्षेत्रलाई केही योगदान गर्ने हो भने बजारकै पछि लागेर सम्भव छैन । गहन प्रकृतिका गीत संगीतमा ध्यान दिनुपर्छ । अहिले म त्यसैमा लागेको छु ।

प्रतिक्रिया दिनुहोस्