
काठमाडौं । नेकपा (एमाले) र जनता समाजवादी पार्टी (जसपा)ले संयुक्त कार्यदल बनाएका छन् । सत्ता सहकार्यलगायतका विषयमा वार्ता गर्न एमाले र जसपाले संयुक्त कार्यदल गठन गरेको हो ।
कार्यदलमा एमालेबाट उपमहासचिव तथा अर्थमन्त्री विष्णु पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ र प्रधानमन्त्रीका सल्लाहकार डा राजन भट्टराई छन् । त्यस्तै जसपाबाट सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्ण रहेको बताइएको छ ।
जसपाका अध्यक्ष महन्थ ठाकुरले पार्टीका शीर्ष नेताहरुलाई जानकारी नदिई नेकपा एमालेसँग सत्ता साझेदारीबारे गृहकार्य गर्न कार्यदल गठन गरेका हुन् ।
जसपाका नेताहरू डा.बाबुराम भट्टराई र उपेन्द्र यादव पक्ष एमालेसँग सहकार्यको पक्षमा छैन । तर, महन्थ ठाकुर,राजेन्द्र महतो,राजकिशोर यादव लगायत पूर्व राजपाका नेताहरू एमालेसँग छलफलमा छन् ।
जसपा सांसद कर्णका अनुसार रेशम चौधरीका मुद्दा फिर्ता लिनेलगायत विषयमा छलफल गरिने छ । उक्त कार्यदलको सोमबार प्रारम्भिक चरणको वार्तासमेत भइसकेको छ ।
केपी शर्मा ओलीलाई बहुमत पुर्याउन जसपाले साथ दिए पुग्ने देखिन्छ । सरकार बनाउन १३८ जना सांसद चाहिन्छ । एमालेबाट प्रतिनिधि सभामा १२० सांसद छन् । प्रतिनिधि सभामा जसपाका ३४ सांसद छन् । त्यसमध्ये दुई जना निलम्बनमा छन् । जसपाका हरिनारायण रौनियार र रेमशलाल चौधरी निलम्बित छन् ।












