Logo
Logo

सरकार गिराउने र टिकाउने कसरत : ओली–प्रचण्ड कांग्रेस र जसपाको शरणमा !


प्रदीपराज दाहाल


काठमाडौं । सर्वोच्चले सत्तारुढ नेकपा खारेज गरेपछि नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँतिएसँगै सरकार गिराउने र टिकाउने खेल सुरु भएको छ । पूर्व माओवादी केपी शर्मा ओलीलाई कुनै पनि हालतमा प्रधानमन्त्रीबाट बर्खास्त गर्न चाहन्छन् ।

नेकपा एमालेका आधा समूह भने ओली नेतृत्वको वर्तमान सरकारलाई कुनै पनि हालतमा ढाल्न नदिने कसरत्मा छन् । ओलीलाई सत्ता टिकाउन जति सजिलो छ ओलीलाई सत्ताच्युत गर्न माओवादीलाई पनि त्यति नै सकस देखिन्छ ।

दिनभर एमाले र माओवादीको कसरत

मंगलबार पेरसिडाँडामा माओवादी केन्द्रको बैठक बस्यो । बैठकले ओली नेतृत्वको सरकारलाई बिघटन गर्नेबारे स्पष्ट निर्णय त गर्न सकेन तर अन्य दलसँग सहकार्य गरेर अघि बढ्ने निर्णय गर्यो । यसको मतलव प्रतिनिधिसभाका सबै दलको साथ लिएर ओली सरकार ढाल्ने माओवादीको तयारी हो ।

माओवादीले अन्य दलसँग छलफललाई तीव्रता दिएको छ । मंगलबार नै माओवादी अध्यक्ष प्रचण्ड बुढानिलकण्ठ पुगे । कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर नयाँ सत्ता समीकरणबारे छलफल गरेका छन् । मंगलबार नै प्रचण्डले जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईसँग पनि भेटवार्ता गरेका छन् । देउवा र भट्टराई ओली सरकार विघटनको पक्षमा आधारभूत रुपमा सहमत रहेको बुझिएको छ ।

सरकार जोगाउन एमालेको कसरत पनि बढेको छ । एमाले र जनता समाजवादी पार्टीको सत्ता समीकरणका लागि गृहकार्य गर्न कार्यदल गठन नै गठन गरिएको छ । तर, एमालेसँगको सत्ता समीकरणका लागि जनता समाजवादीका अध्यक्ष महन्थ ठाकुर बाहेक अरुले सहमति जनाएका छैनन् ।

आइतबारको छलफलले बन्यो कार्यदल

आइतबार प्रधानमन्त्री ओली र जसपा अध्यक्ष महन्थ ठाकुरबीच बालुवाटार छलफल भएको थियो । धेरैले त्यतिखेरै ओलीलाई जोगाउन जसपाले सत्ता साझेदारी गर्न खोजेको आशंका गरेका थिए । यो कुरा मंगलबार पुष्टि भयो ।

आइतबारको छलफलकै पृष्ठभूमिमा एमालेबाट विष्णु पौडेल, सुवास नेम्वाङ, प्रधानमन्त्रीका सल्लाहकार डा. राजन भट्टराई र जसपाबाट सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्ण सदस्य रहेको सत्ता समीकरणका लागि गृहकार्य गर्न कार्यदल गठन भयो ।

ओली सरकार ढाल्न प्रचण्ड दौडधुपमा छन् । निवासमै पुगेर कांगे्रस सभापति शेरबहादुर देउवा र जसपा अध्यक्ष डा. बाबुराम भट्टराईको साथ खोज्न प्रचण्ड पछि परेनन् । सरकार टिकाउन प्रधानमन्त्री केपी शर्मा ओलीको कसरत पनि कम छैन । जसपासँग सत्ता साझेदारीका लागि कार्यदल नै गठन गरिसके ।

कांग्रेस के गर्छ ?

नेपाली कांग्रेस नेकपा विभाजनको फाइदा लिने पक्षमा देखिन्छ । सिङ्गो कांग्रेस नेकपा एमालेसँग सत्ता साझेदारी गर्न तयार छैन । तर, सभापति देउवा भने अप्रत्यक्ष रुपमा आएको प्रधानमन्त्री ‘अफर’मा लोभिएका छन् । कांग्रेसमा देउवा हावी भए एमालेसँग सत्ता साझेदारी गर्न सक्ने देखिन्छ ।

तर, बहुमत कांग्रेसको दवाव थेग्न नसकेको अवस्थामा माओवादीसँग मिलेर कांग्रेसले ओली सरकार ढाल्न भूमिका खेल्ने छ । यस्तो अवस्थामा माओवादी–कांग्रेसको समीकरणमा नयाँ सरकार गठन हुन सक्नेछ ।

कसरी हट्न सक्छन् ओली ?

प्रधानमन्त्रीबाट ओलीलाई हटाउन सबैभन्दा पहिला माओवादी केन्द्रले वर्तमान सरकार गठनका लागि दिएको समर्थन फिर्ता लिनुपर्ने हुन्छ । उक्त निर्णय संसदमा दर्ता हुनुपर्छ । संसद सचिवालयले यसबारे सभामुखलाई जानकारी गराउनेछ ।

सभामुखले सदनमा प्रधानमन्त्रीलाई दिएको समर्थन फिर्ता गरेको पत्र वाचन गरेर सुनाउनेछन् । त्यसपछि प्रधानमन्त्रीले सभामुखले तोकेको मितिमा विश्वासको मत लिनुपर्ने हुन्छ ।

प्रतिनिधिसभामा एमालेको १ सय २१ र माओवादी केन्द्रको ६३ सिट छ । एकतापछि दुबै दलको मतबाट ओली बहुमतका आधारमा प्रधानमन्त्री निर्वाचित भएका थिए । त्यसैले माओवादी केन्द्रले समर्थन फिर्ता लिने वित्तिकै ओली सरकार अल्पमतमा पर्ने छ ।

यस्तो अवस्थामा प्रधानमन्त्रीले बहुमत सावित गर्नुपर्ने हुन्छ । बहुमत सावित गर्न नसके पदबाट हट्नुपर्ने व्यवस्था छ । त्यसपछि संविधानको धारा ७६ (२) १ अनुसार नयाँ प्रधानमन्त्री चयन प्रकृया अघि बढ्ने छ ।

प्रतिक्रिया दिनुहोस्