Logo
Logo

म अध्यक्ष भएको भए बेडरूममै गएर किन रिसाउनुभो भन्दै गाला मुसार्ने थिएँ : माधव नेपाल


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले केपी ओलीले बालुवाटारमा बोलाउँदैमा लुरुलुरु नजाने बताएका छन् । राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने, ‘हामी स्वाभिमानी मान्छे हौँ । ओलीले बोलाउँदैमा बालुवाटार बैठकमा जाँदैनौँ ।’

उनले ओलीले राखेको संसदीय बोर्डको बैठकमा पनि नबस्ने जिकिर गरेका छन् । ‘हामी दुई बबुरोलाई संसदीय बोर्डमा राखेको रहेछ । उहाँले राख्दैमा प्रभु भन्दै जाने पक्षमा छैनौँ । संसदीय बोर्डमा पनि बस्दैनौँ’ उनले भने, ‘संसदीय दलको बैठक बालुवाटारमा होइन । संसदीय दलको कार्यालय छ। त्यहाँ बैठक राखे जान्छौँ । पार्टीको बैठक निजी निवासमा राखे जाँदैनौँ।’

उनले पार्टी एकतालाई जीवित राख्नका ओली २०७५ जेठ २ मा फर्किनुपर्ने उनले बताए । ‘हामी एकताको पक्षमा छौँ । वामपन्थी सरकारलाई निरन्तरताको पक्षमा लागिरहेका छौँ । पार्टीभित्र सही विचार र राम्रो पार्टी निर्माणका लागि जुटिरहेको छौँ’ उनले भने ।

ओलीले फोन गर्नुको सट्टा घरमै भेटेरै भनेको हुन्थ्यो भन्दै नेपालले भने, ‘म अध्यक्ष भएको भए घरमै पुगेर, ढोका खोलेर, बेडरुममा पसेर किन रिसाउनुभो भनेर गाला मुसार्ने थिएँ । फकाउन म जान्दछु नि । उहाँको काम होइन ? गार्जियनको काम नै हो फकाउने तर उहाँले त्यो गर्नुभएन ।’

ओली विरुद्ध पार्टी भित्र नै संघर्ष गर्ने उल्लेख गर्दै नेता नेपालले ओलीसँग छुट्टीएर बस्ने पक्षमा आफूहरु नरहेको बताए । उनले आफूहरुको ‘मायाप्रीति’ ४८ वर्ष पुरानो भएको पनि बताए ।

‘हामी केपी ओली विरुद्ध संघर्ष गछौं, तर उहाँसँग छुट्टिइहाल्ने पक्षमा छैनौं । केपी ओलीसँगको मेरो मायाप्रिती कहाँ एक रातमा टुट्छ ? हाम्रो मायाप्रीति ४८ वर्ष पुरानो हो । हामी एकताको हात बढाउन चाहन्छौं ।’

प्रतिक्रिया दिनुहोस्