Logo
Logo

दृष्टिका १० हेडलाइन्स् : नेपालमा पुनः बढ्यो कोरोनाको जोखिमदेखि राष्ट्रपतिको भोलिदेखि दुई दिने बंगलादेश भ्रमणसम्म


दृष्टि संवाददाता


हेडलाइन्स् :

१. भारतमा कोरोना भाइरसको संक्रमण बढेसँगै नेपाल सरकारले पनि गरायो नागरिकलाई सचेत, सभा, सम्मेलन र जुलुस नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको परिपत्र, सबै अस्पताल र स्वास्थ्य संस्थाहरूलाई महामारी व्यवस्थापनका लागि तयारी अवस्थामा रहन मन्त्रालयको निर्देशन, सीमामा कडाई गर्न जनस्वास्थ्य विज्ञकको सरकारलाई सुझाव, नागरिकले मास्क र भौतिक दूरी कायम गर्न पनि विज्ञको अनुरोध, भारतसँगका १४ नाकामा कडाइ गर्दै घर फकिर्नेको नाकामै स्वास्थ्य परीक्षण गर्ने सरकारको निर्णय ।

२. दुई दिने राजकीय भ्रमणका लागि राष्ट्रपति विद्या देवी भण्डारी भोलि बंगलादेश जाँदै, नेपाल एयरलाइन्सको न्यारो बडी ए ३२० जहाजबाट ढाका प्रस्थान गर्ने, भ्रमणका क्रममा कला, संस्कृति बाहेक अन्य तीन महत्वपूर्ण विषयमा हस्ताक्षर हुने, पारवहन, यातायात, रेल र मल सरकारको उच्च प्राथमिकतामा, बंगलादेशलाई विद्युत बेच्ने सन्दर्भमा पनि छलफल गर्ने सरकारको तयारी ।

३. प्रधानमन्त्री केपी शर्मा ओली संविधान मास्ने पात्रको रूपमा अगाडी आएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्कपकमल दाहाल प्रचण्डको आरोप, तत्कालीन समयमा एमालेसँग पार्टी एकता गरेर कुनै गल्ती नगरेको प्रचण्डको तर्क, २५ वर्षदेखि ओली विदेशीबाट पालित र पोषित रहेको प्रचण्डको खुलासा, प्रतिनिधिसभा विघटन गर्ने निर्णय गरेको दिनदेखि आफू झनै शक्तिशाली भएको महसुस गरिरहेको प्रचण्डको दावी ।

४. एमाले र माओवादीलाई पूर्ववत दलको रुपमा फर्काउने सर्वोच्चको आदेशपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मनपरी ढंगले पार्टी र सरकार चलाउन खोजेको एमाले वरिष्ठ नेता झलनाथ खनालको आरोप, विभिन्न पदाधिकारीलाई हटाउने, महाधिवेशन कमिटी बनाउने र विधान संशोधन गर्ने ओलीको निर्णय आफुहरुलाई मान्य हुन नसक्ने भनाइ, संसद विघटन गर्ने असंवैधानिक कदमले मुलुकमा अस्थिरता बढेको नेता खनालको तर्क ।

५. नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले छुट्टै भेला राखेर दबाब बढाएपछि सभापति शेरबहादुर देउवाले पनि बोलाए कांग्रेस पदाधिकारीको बैठक, पछिल्लो राजनीतिक परिवेशमा कांग्रेसले खेल्नुपर्ने भूमिका र सत्ता समीकरणका सन्दर्भमा छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जानकारी ।

६. होटल तथा रेष्टुरेन्टलाई कोभिड–१९ को लकडाउनको ६ महिनाको समयको शत प्रतिशत र त्यसपछिको चार महिनाको विद्युत डिमाण्ड शुल्कको ५० प्रतिशत छुट उद्योगलाई दिने मन्त्रिपरिषदको निर्णय, जापानले दिने १ अर्ब ८ करोडबराबरको वस्तुगत सहायता अनुदान स्वीकार गर्ने निर्णय, तत्कालीन पञ्चायती शासन व्यवस्था विरोधी आन्दोलनमा सहभागी भएको कारण सरकार पक्षबाट हत्या भएका झापा जिल्ला विर्तामोड नगरपालिका–९ का स्व चन्द्र डाँगी र बुद्धशान्ति गाउँपालिका–१ का स्व रामप्रसाद प्रधानलाई शहीद घोषणा ।

७. संघीय संसदको प्रतिनिधिसभा अन्तर्गतका संसदीय समितिका सभापतिद्वारा सभामुख अग्नि सापकोटासँग छलफल, सांसदहरुको भ्रमणभत्ता बढाउनुपर्ने माग, विधेयकहरुमाथिको छलफललाई थप व्यवस्थाति बनाउन कानुन अधिकृत आवश्यक भएको समेत सभापतिहरूले सुनाए गुनासो, मागका विषयमा अध्ययन गरेर निर्णय लिइने सभामुख सापकोटको प्रतिक्रिया ।

८. आइतबार सेयर बजारमा ६३ अंकको उछाल, कारोबार रकमसमेत करिब ६ अर्ब रुपैयाँ हाराहारी पुगेसँगै बजार पुनः लयमा फर्कियो, सिंगटी हाइड्रो इनर्जीको आइपीओमा ५ दशमलव २३ गुणा आवेदन, ८ लाख ७९ हजारले दिए आवेदन, वोमी लघुवित्तको शेयर कारोबार फुकुवा, मर्जरपछि ५ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत, २० प्रतिशत शेयर जारी गर्न विद्युतीय भुक्तानी सेवा प्रदायक कम्पनीहरु धमाधम पब्लिक कम्पनीमा रुपान्तरण हुँदै

९. नेपाल क्रिकेट संघ (क्यान) को सेन्ट्रल कन्ट्रयाक्टमा रहेका राष्ट्रिय महिला र पुरुष क्रिकेटरले एक वर्षकै पारिश्रमिक पाउने, सेन्ट्रल कन्ट्रयाक्टमा रहेका खेलाडीसँग ६ महिनाको सम्झौता गरेपनि क्यानले एक वर्षकै पारिश्रमिक उपलब्ध गराउने, खिल नेपाल फुटबल संघ(एन्फा) र मेडिसिटी अस्पतालबिच सम्झौता, खेलाडीहरुलाई दक्ष चिकित्सक,फिजियोथेरापिष्ट र उच्चस्तरीय उपकरण सहितको स्पोर्टस मेडिसिन सेवा प्रदान गर्ने, बंगलादेश,नेपाल र किर्गिस्तान सम्मीलित त्रिदेशीय फुटबल प्रतियोगिताको प्रत्यक्ष प्रशारण नेपाल टेलिभिजनले गर्ने, टोकियो ओलम्पिकमा विदेशी दर्शकलाई प्रवेश निषेध ।

१०.र, भारतमा संक्रमितको संख्यामा दैनिक नयाँ रेकर्ड, तीन दिनमा १ लाख २४ संक्रमित, अमेरिकाका लागि रुसी राजदूत एन्टोनोभ स्वदेश फिर्ता, कोरोनाभाइरसको सङ्क्रमण फैलिएको भन्दै धेरैवटा युरोपेली मुलुकहरुले नयाँ लकडाउन र प्रतिबन्धहरु घोषणा, पोल्यान्ड, फ्रान्स र युक्रेनको राजधानी समेतका कतिपय भागमा नयाँ प्रतिबन्ध, घरबाटै काम गर्न निर्देशन ।

 

प्रतिक्रिया दिनुहोस्