Logo
Logo

ओलीको स्पस्टीकरण अवैध भनेको झलनाथ–माधव समूह रणनीति बनाउँदै


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही नेताहरुलाई स्पष्टिकरण सोधेपछि झलनाथ खनाल–माधवकुमार नेपाल पक्ष छलफलमा जुटेका छन् । यो समूहले अध्यक्ष ओलीले बोलाएको केन्द्रीय कमिटी र संसदीय दलको बैठकलाई गुटको बैठकको संज्ञा दिंदै आएको छ ।

 

नेता भीम रावलले ओली गुटको बैठकले गरेका कुनै पनि निर्णय स्वीकार्य नहुने बताएका छन् । उनले भने, ‘त्यो अवैध केन्द्रीय कमिटीको अवैध स्पष्टिकरणको कुनै अर्थ छैन । पार्टीको विधानको धारा १३, १३ (क), धारा १४ र ५८ सम्पूर्ण मिचेर केपी शर्मा ओलीजीले गरेको सम्पूर्ण काम र स्वेच्छारीलाई बैधता दिन मिल्दैन । त्यो स्पष्टिकरणको कुनै अर्थ छैन ।’

झलनाथ–माधव समूहले अबको रणनीति के हुन्छ भन्ने सन्दर्भमा आन्तरिक छलफल बढाएको छ । अध्यक्ष ओलीको अवैध निर्णय विरुद्ध निर्वाचन आयोगमा जानेसम्मको तयारीमा यो समूह रहेको छ ।

यसबीचमा नेपाल पक्षले जनवर्गीय संगठनहरुका भेला बेलाई अलग नेतृत्व चयन प्रक्रिया जारी राखेको छ भने अब जिल्ला हुँदै तल्लो तहसम्म समानान्तर कमिटीहरु बनाउने क्रम बढेको छ । यो समूहले एमालेभित्रै संघर्ष गर्ने वा तल्लो तहसम्म कमिटीहरु पुनर्गठन गरेर माओवादी केन्द्रसँग पुनः एकतामा जाने भन्ने दुबै कोणबाट छलफल थाल्ने भएका छन् ।

माओवादी केन्द्रले पनि झलनाथ–माधव समूहसँग एकता गर्न सक्ने आधारका रुपमा पार्टीको नाम फेर्ने बहस सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्