Logo
Logo

अदालतमा उल्टो बयान दिनेलाई भ्रष्टाचार मुद्दा


दृष्टि संवाददाता


काठमाडौं, ९ चैत ।
जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, दोलखका सिनियर डिभिजन इन्जिनियर प्रकाश अधिकारीसमेत भएको भ्रष्टाचार मुद्दामा अदालतमा गएर बयान फेर्ने दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

सिरम्फु सिंचाई योजना जल उपभोक्ता समिति लगायत बिभिन्न निर्माण व्यवसायी तथा अन्य उपभोक्ता समितिहरुबाट घुस÷रिसवत लिई भ्रष्टाचार गरेको कसुरमा विशेष अदालत काठमाडौंमा दायर गरिएको मुद्दामा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५५ बमोजिम सजाय मागदाबीमा पूर्ण छुट दिई सरकारी साक्षीका रुपमा पेश गरिएका सिरम्फु सिंचाई योजना जल उपभोक्ता समितिका अध्यक्ष धनविर थामी र सचिव जित बहादुर तामाङ्गले वकपत्र गर्दा अनुसन्धानको सिलसिलामा गरेको वयान कागजको व्यहोरालाई अन्यथा हुने गरी प्रतिकुल वकपत्र गरेको भन्दै आयोगले उनीहरुलाई पनि प्रतिवादी बनाएको छ ।

भ्रष्टाचार मुद्दाका सम्बन्धमा अनुसन्धान हुँदा प्रतिवादीहरु धनविर थामी र जित बहादुर तामाङ्गले जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, दोलखाका सिनियर इन्जिनियर प्रकाश अधिकारी र सव–इन्जिनियर सुधिर कुमार साहलाई घुस÷रिसवत रु. ४,००,०००।– दिएको पुष्टि हुन आएको र उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) बमोजिमको कसुर भएको हुँदा निजहरु धनविर थामी र जित बहादुर तामाङ्गलाई बिगो रु. ४,००,०००।– (चार लाख रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (घ) अनुसार सजायको मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३५ को उपदफा १ बमोजिम आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्