संवैधानिक परिषद् नबस्दा भोलिदेखि लोक सेवा आयोग पदाधिकारीविहीन बन्दै « Drishti News – Nepalese News Portal
Logo

संवैधानिक परिषद् नबस्दा भोलिदेखि लोक सेवा आयोग पदाधिकारीविहीन बन्दै


दृष्टि संवाददाता


काठमाडाैं । भोलिदेखि लोक सेवा आयोग पदाधिकारीविहीन बन्ने भएकाे छ । राजनीतिक खिचातानीका कारण प्रधानमन्त्रीको अध्यक्षता रहने आयोगमा संवैधानिक परिषद्ले समयमा नै पदाधिकारी सिफारिस र नियुक्ति गर्न नसक्दा लोकसेवा आयोग एकैपटक पदाधिकारीविहीन बन्न लागेकाे हाे ।

आयोगका अध्यक्ष उमेशप्रसाद मैनाली, विन्द्रा हाडा भट्टराई, अशोककुमार झा, ब्रम्हदेव राय र कृष्णचन्द्र झा भोलिदेखि सेवा निवृत्त हुनासाथ ११ चतदेखि नै आयोगका सबै काम ठप्प हुने लोकसेवा आयोगले जनाएको छ ।

आयोगका अध्यक्षलगायत पाँचै जना पदाधिकारीको पदावधि यही १० चैतदेखि समाप्त हुँदैछ । पदाधिकारी समयमा सिफारिस र नियुक्ति हुन नसक्दा आगामी ११ चैत्रदेखि लोकसेवा आयोगका सबै काम ठप्प हुनेछन् । आयोगद्वारा सञ्चालन हुने परीक्षा तथा नतिजाका सबै काम रोकिनेछ भने सरकारी निकायमा रिक्त रहने स्थानमा नयाँ कर्मचारी पदपूर्ति गर्ने प्रक्रियासमेत अवरुद्ध बन्न पुग्ने देखिएकाे छ ।

संविधानको धारा २८४ को उपधारा ३ अनुसार संवैधानिक परिषद्ले संवैधानिक निकायका कुनै प्रमुख वा पदाधिकारीको पद रिक्त हुनुभन्दा एक महिनाअगावै नियुक्तिका लागि सिफारिस गर्नुपर्ने प्रावधान छ ।

मंगलबारदेखि आयोग पदाधिकारीविहीन भएसँगै आयोगका सबै काम प्रभावित हुने बताइएको छ । पदाधिकारी नहुँदा नियमित प्रशासनिक बाहेक, परीक्षा सञ्चालन गर्ने, अन्तर्वार्ता लिने तथा नतिजा निकाल्नेलगायत आयोगका नियमित कार्य सबै ठप्प हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्