Logo
Logo

दृष्टिका १० हेडलाइन्स् : माधव–झलनाथ समूहका नेतालाई स्पष्टीकरण सोधिएको देखि चिनियाँ राजदूतको सक्रियता बढेकोसम्म


दृष्टि संवाददाता


हेडलाइन्स् :

१. नेपालमा पुनः कोरोना भाइरसको संक्रमण फैलने जोखिम, भारतसँग सीमा जोडिएका जिल्लामा सुरक्षा सतर्कता अपनाउन थालियो, स्वास्थ्य मन्त्रालयद्वारा मातहतका निकायलाई तयारी अवस्थामा रहन निर्देशन, एन्टिजेन परीक्षण बढाउने तयारी, होली नजिकिएकाले स्वास्थ्य मापदण्ड पालना गर्न सरकारको पुनः नागरिकलाई अपिल, मास्क अनिवार्य गर्न जनस्वास्थ्य विज्ञको सरकारलाई सुझाव, २४ घण्टामा नेपालमा थपिए १ सय ५० कोरोना संक्रमित, ३ को मृत्यु ।

२. नेकपा एमालेले पठायो वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेतालाई स्पष्टीकरण पत्र, माधव–झलनाथ पक्षका स्थायी कमिटी सदस्यहरूको अनौपचारिक छलफलले स्पष्टीकरणको लिखित जवाफ दिने निष्कर्ष, नक्कली केन्द्रीय कमिटीको निर्णय अमान्य भन्दै नेता भीम रावलले स्पष्टीकरणको जवाफ नदिने ।

३. नेकपा माओवादी केन्द्रले बोलायो स्थायी समितिको बैठक, मंगलबार बिहान ८ बजे बस्ने, बैठकमा सरकारलाई दिएको समर्थनका विषयमा छलफल हुने, माओवादीबाट सांसद बन्दै मन्त्री बनेर एमालेमा प्रवेश गरेका नेताको विषयमा समेत बैठकले निर्णय लिने ।

४. दुई दिने बंगलादेश भ्रमणमा गएकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई समकक्षी हमिदले गरे स्वागत, विमानस्थलमा २१ तोपको सलामीसहित ‘गार्ड अफ अनर’ दिइयो, बंगलादेशका प्रधानमन्त्री शेख हसिनाद्वारा राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट, दुई पक्षीय छलफल पनि सम्पन्न ।

५. मुलुकमा राजनीतिक अस्थिरता बढीरहँदा चिनियाँ राजदूत हाउ यान्छीले बढाइन् सक्रियता, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेका वरिष्ठ नेता माधव नेपालसँग भेटवार्ता, प्रचण्डसँगको भेटमा प्रधानमन्त्रीलाई दिएको समर्थन फिर्ता नलिन यान्छीको आग्रह, नेपालसँग मिलेर जान दिइन् सुझाव ।

६. सत्ता समीकरणका विषयमा नेपाली कांग्रेस केन्द्रीय पदाधिकारीको बैठक अनिर्णित, बैकल्पिक सरकारका लागि कांग्रेस तयार रहेपनि स्थिति अझै परिपक्व नबनेको कांग्रेसको निष्कर्ष, बैठकमा पार्टीको क्रियाशिल सदस्यताका बारेमा मात्रै छलफल भएको नेता रमेश लेखकले दिए जानकारी, हालसम्म २ लाख १२ हजार ५ सय १९ जनाको क्रियाशील सदस्यता नवीकरण र १ लाख ८० हजार २ सय ७५ नयाँ वितरण भएको तथ्यांक ।

७. प्रतिनिधिसभाको बैठकले बिजनेश नपाएकोमा सभामुख अग्नि सापकोटा असन्तुष्ट, आफूले कुनै पनि दलको पक्ष नलिई निष्पक्ष सभामुखको भूमिका निर्वाह गरिरहेको दावी, अध्यादेश रोक्ने विषयमा आफ्नो कुनै हात नरहेको जिकिर, मंगलबार बस्ने प्रतिनिधिसभाको बैठकको सम्भावित कार्यसूची तय, शुरुमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वार्षिक प्रतिवेदन पेश गर्ने, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हीत समितिका सभापति बिमल प्रसाद श्रीवास्तवले एक वार्षिक प्रतिवेदन पेश गर्ने तय ।

८. लगातार ४ दिनसम्म बढेको शेयर बजार पाँचौ दिनमा आएर भने २४ अंकले घट्यो, राम्रा कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स समेत करिब ५ अंकले घट्यो, नेप्से सूचक २ हजार ५ सय १५ बिन्दुमा पुग्दा सेन्सेटिभ इन्डेक्स ४ सय ४८ बिन्दुमा कायम, सिंगटी हाइड्रो इनर्जीमा ७ गुणा बढी आवेदन, १ करोड ९० लाख कित्ता शेयर माग, सडिएस एण्ड क्लियरिङ्ग नेपालले चैत ८ गते आइतबार बिक्री गरेका शेयरहरुको इडीआईएस गर्ने समय थप्यो ।

९. ललितपुर उपमहानगर पालिकाको सहयोगमा हुन लागेको मेयर कप महिला टी २० क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक, पहिलो दिन दुई खेल हुने, प्रदेश एक र एपीएफ भिड्ने, दोस्रो खेलमा सुदुरपश्चिम र ललितपुर मेयर ११ विच प्रतिस्पर्धा हुने, नेपालको घरेलु मैदानमा हुन लागिएको त्रिदेशीय फुटबल लिग भोलीबाट शुरु हुँदै, दशरथ रंगशालामा हुने लिगको पहिलो खेलमा भोली बंगलादेश र किर्गिस्तान खेल्ने ।

१०.र, छिमेकी मुलुक भारतमा पछिल्लो २४ घण्टामा ४७ हजार ९ जना नयाँ कोभिड–१९ संक्रमित थपिए, २ सय १३ जनाको मृत्यु, भारतमा उत्पादित कोभिशिल्ड खोप अमेरिकी परीक्षणबाट पनि सुरक्षित र प्रभावकारी प्रमाणित, म्यानमारको सैन्य ‘कू’मा संलग्न ११ जनामाथि ईयूको प्रतिबन्ध ।

 

प्रतिक्रिया दिनुहोस्