Logo
Logo

ओलीलाई प्रतिस्पष्टीकरण दिने झलनाथ–माधव समूहको तयारी


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेमा विवाद थप बढेको छ । झलनाथ–माधव समूहका चार नेताले स्पष्टीकरणपत्र बुझेपछि प्रतिस्पष्टीकरण पठाउने भएका छन् ।

उनीहरुले आफूहरु अध्यक्ष केपी शर्मा ओलीले एकलरुपमा गरेका कुनै पनि निर्णय नमान्ने बताउँदै दशौं महाधिवेशन आयोजक समितिका सदस्य भन्नुनै गलत भएको टिप्पणी गरेका छन् । नेता भीम रावलले भने, ‘महाधिवेशन आयोजक कमिटी भन्नु नै विधान विपरित छ ।

नक्कली केन्द्रीय कमिटी मान्दैनौं । र अवैध रुपमा सोधिएको स्पष्टीकरणको कुनै अर्थ छैन ।’ यो समूहले उल्टै अध्यक्ष ओलीलाई प्रष्टीकरण सोध्ने भएको छ । स्पष्टीकरणको संगति नै नमिलेकाले त्यसको जवाफ प्रतिस्पष्टीकरणबाट दिने यो समूहको तयारीछ । आजै पठाउन सक्ने नेताहरुले बताएका छन् ।

यस्तै बैठकले ओलीले स्पष्टीकरणका नाममा कारबाही गर्ने धम्की दिएकाले त्यसको विरुद्धमा तल्लो कमिटीसम्म शक्ति एकीकृत गर्ने, भेला र गोष्ठीहरूलाई निरन्तरता दिने निष्कर्ष पनि निकालेको छ । सबै नेताहरूलाई फरक–फरक खालको पत्र आएकाले जवाफ पनि आ–आफ्नै हिसाबले दिने नेताहरूको निर्णय छ ।

प्रतिक्रिया दिनुहोस्