Logo
Logo

राजतन्त्र फर्काउने ओलीकाे साँठगाँठ सफल हुन दिदैनाैँ : माधव नेपाल


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीबाट राजतन्त्र फर्काउने चलखेल भइरहेको आरोप लगाएका छन् । मंगलबार आफ्नो समूहको विद्यार्थी राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले अध्यक्ष ओली र राजावादीबीच राजतन्त्र फर्काउने चलखेल भइरहेको आरोप लगाएका हुन् ।

नेता नेपालले अध्यक्ष ओलीलाई राजतन्त्रसँग साँठगाँठ गरेको आरोप लगाउँदै त्यसलाई सफल हुन नदिने दाबी गरे । उनले भने, ‘केपी ओलीले जतिसुकै साँठगाँठ गरुन, अप्रत्यक्ष सहयोग गरुन हामी राजतन्त्र फर्किन दिँदैनौं ।’

यस्तै, नेता नेपालले नेकपा एमाले आफूहरु भएको बताएका छन् । केपी शर्मा अ‍ोलीले चलाइरहेको पार्टी एमाले हुन नसक्ने बताउँदै सक्कली एमाले आफूहरू रहेको दावी उनको थियो । अध्यक्ष ओलीलाई पार्टी छाडेर गए हुने टिप्पणी गर्दै उनले भने ‘नेकपा एमाले हाम्रो हो, केपी ओलीको होइन ।’

अध्यक्ष ओलीलाई पुराना कम्युनिष्ट नेता केशरजंग रायमाझीसँग तुलना गर्दै कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्न लागेको आरोप लगाए । ‘त्यस्तै भयो नवौं महाधिवेशनमा,’ उनले भने, ‘विचार हाम्रो पारित भएको थियो । नेता चुनिए केपी ओली । अहिले उनी कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्न कोसिस गर्दै छन् ।’

नेता नेपालले ओली र जबजबीच कहिल्यै भेट नभएको समेत टिप्पणी गरे । ‘जबज र केपी ओलीको कहिले भेट भएको थियो ?,’ उनको प्रश्न थियो, ‘अहिले केपी ओली जबजको भावना अनुसार चलेका छन् ? जबजको पहिलो कुरा बहुमतको कुरा मान्ने हो । उनले बहुमतको निर्णय मानेका छैनन् ।’

प्रतिक्रिया दिनुहोस्