Logo
Logo
दृष्टिकोण

पर्दा पछाडिको खेलाडी


शम्भु श्रेष्ठ

55.7k
Shares

२०७५ जेठ ३ गते राष्ट्रियसभागृहबाट दुई जना पाइलटले उडाएको गन्तव्यहीन जहाज कहाँ गएर ठोकिन्छ भन्ने कुरा मैले त्यतिबेलै यस स्तम्भमा लेखेको थिएँ । नभन्दै सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलाले उक्त जहाज दुर्घटनाग्रस्त गराइदियो । दुर्घटनाग्रस्त नेकपा जहाजको टुक्रा–टुक्रा जोडेर पुनः जहाज बनाउने कुरा अब सम्भव छैन ।

जहाज दुर्घटना हुनुको कारण पत्ता लगाउने ‘ब्ल्याकबक्स’ अरुकै हातमा पुगिसक्यो । नेकपाको जहाज दुर्घटना गराउने योजना प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख ५ गते अध्यादेश ल्याएर गर्न खोजेका थिए । त्यो प्रयास विफल भएपछि पुस ५ गते संसद् भंग गरेर दुर्घटना निम्त्याउन खोजे । त्यसलाई पनि सर्वोच्च अदालतको फागुन ११ गतेको फैसलाले रोकिदियो ।

त्यसपछि ‘ककपिट’मै रन्थनिएका ओलीलाई फागुन २३ गते सर्वोच्च अदालतको राडरले गलत सूचना दियो र जहाज दुई टुक्रा बनाइदियो । जहाज दुर्घटनाग्रस्त भएपछि पाइलटको अवस्था के भयो होला त्यो सबैले जाने बुझेकै कुरा हो । नेपालको कम्युनिष्ट आन्दोलनमा दुईतिहाइको सरकारको नेतृत्व गर्न पाउनु ओलीलाई ठूलो अवसर थियो । आफ्नै कारणले दुईतिहाइको सरकार धरमराउदा पनि ओली बालुवाटार बसेर हर्ष बढाइँ गरिरहेका छन् ।

पार्टी फुटेकोमा उनलाई कुनै पश्चाताप छैन । उनी अझै एमाले फोड्ने काममा लागिरहेका छन् । यो सबै काम उनले नेपाल र नेपाली जनताको हितमा गरिरहेका छन् अथवा, खोक्रो राष्ट्रवादको आडमा कसैको गोटी बन्दैछन्, यसको रहस्य अवश्य खुल्नेछ ।

नेकपा फुटेकोमा ओलीलार्ई कुनै पश्चाताप छैन । अझै एमाले फोड्ने काममा लागिरहेका छन् । यो सबै काम उनले नेपाल र नेपाली जनताको हितमा गरिरहेका छन् अथवा, खोक्रो राष्ट्रवादको आडमा कसैको गोटी बन्दैछन्, यसको रहस्य अवश्य खुल्नेछ ।

करिब तीन वर्ष अगाडि नेपालका दुई कम्युनिष्ट पार्टी मिलेर एउटै कम्युनिष्ट पार्टी बनेकोमा एउटा छिमेकी खुशी थियो, अर्को दुःखी । जो खुशी थिए, तिनलाई पनि ओलीले थाङ्नामा सुताइरहेका छन् भन्ने थाहा भएन । जो दुःखी थिए, तिनलाई पनि यो काम उनीहरुकै हितमा गरिरहेको छ भन्ने थाहा थिएन ।

अन्ततः ओलीको व्यवहार र फागुन २३ गतेको सर्वोच्चको फैसलाले ओलीको चरित्र उदांगो पारिदियो । यो भन्दा उदांगो हुने ठाउँ छैन, तर पनि ओली सत्तामा किन, टिकिरहेका छन् भन्ने धेरैलाई लाग्दो होला । ओलीकै सत्ता लम्ब्याउन संसद्मा रहेका दलहरुबीच विभाजनको रेखा कोरिएको छ । सिंगो संसद् अनिर्णयको बन्दी बनेको छ । विश्लेषण गर्नेहरुले वैधानिक रुपमा यो भन्दा बढी राजनीतिक दुर्घटना हुने ठाउँ अब छैन भन्दैछन् ।

विश्लेषकहरु किन यसो भन्दैछन् भने, अब गर्नुपर्ने बाँकी ‘अपराध’ का लागि पनि ओली तयार छन् भन्ने कुराको संकेत हो यो । यो संविधानको विरोधी सीके राउत, नेत्रविक्रम चन्द ‘विप्लव’लाई ओलीले शान्ति प्रक्रियामा ल्याउनुको कारण पछाडि यो संविधानलाई ध्वस्त पार्नु ओलीको अर्को उद्देश्यसँग जोडिएको छ ।

त्यसैले त विप्लव भन्दैछन्– ‘यो व्यवस्था र संविधान असफल भयो, ‘गोलमेच’ सम्मेलन गरेर नेपालको नयाँ राजनीतिक खाका कोरौं ।’ वैद्य, विप्लवहरुले पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सुरुमा राखेको प्रस्ताव पनि यही नै थियो । तर, प्रचण्डले हावा कताबाट बगिरहेछ भन्ने कुरा बुझेरै कम्युनिष्टलाई ढाल्न नदिन एमालेसँग बलियो एकता प्रयास गरेका हुन् ।

यो एकता मन नपर्ने तत्वहरु यो संविधानलाई ओलीकै हातबाट रद्दीको टोकरीमा फाल्न चाहन्छन् । त्यही रोडम्यापमा ओली हिँडिरहेका छन् । तर, अब नेपालको घटनाक्रमलाई ओलीले कसरी लिएर अगाडि बढ्छन्, त्यो हेर्न भने दुई/चार महिना कुनै पर्ने छ । किनभने, अहिलेको परिस्थितिमा ओलीभन्दा निर्णायक शक्ति पर्दा पछाडिका खेलाडी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्