Logo
Logo

ओलीको ‘बहुबली अवतार’ले एमाले विभाजनको संघारमा


मिलन लिम्बू


काठमाडाैं । नेपाली कम्युनिष्ट आन्दोलनको एक अध्याय नेकपा एमाले इतिहासकै अप्ठ्यारो मोडमा पुगेको छ । अध्यक्ष केपी शर्मा ओलीले पार्टी अवसानको बाटो रोजेका छन् । पार्टी बचाउने शक्ति बलियो रुपमा उठ्न नसकेको खण्डमा एमाले छिन्नभिन्न हुने खतरा टाढा छैन ।

त्यसका लागि पार्टी अध्यक्ष ओलीले एकलौटी ढंगले १०औँ महाधिवेशनको मिति २०७८ मंसिर २–६ गते तोकेका छन् । त्यो महाधिवेशनपूर्व नै ओलीले आफ्ना विरोधी खेमालाई कारवाही गरेर पार्टीबाट हटाउने रणनीति बुनेका छन् । बालुवाटार स्रोतका अनुसार ईश्वर पोखरेललाई अध्यक्ष, शंकर पोखरेललाई महासचिव र विष्णु पौडेललाई वरिष्ठ उपाध्यक्ष बनाउने ओली गुटको योजना रहेको छ ।

चौध वर्ष जेल जीवन बिताएका ओली पार्टी शक्ति र सत्तामा पुग्न जति लामो समय लाग्यो, एमाले क्षयीकरण हुन तीन वर्ष पनि लागेन । यतिखेर, एमालेलाई एउटा बलियो कम्युनिष्ट राजनीतिक शक्तिको रुपमा स्थापित गर्ने माधवकुमार नेपालहरु ओली अहंकारको सिकार भएका छन् । २०७१ असार १९–२५ गते काठमाडौंमा सम्पन्न नेकपा एमालेको नवाैं महाधिवेशनमार्फत अध्यक्षको रुपमा ओलीको उदय नै एमाले संकटको प्रस्थानविन्दु बन्न पुग्यो । आज सारा एमालेजन त्यसैको परिणाम भोग्न बाध्य छन् ।

पार्टी शक्तिमा ओलीको उदयपछि एमालेमा सामूहिक निर्णयको अभ्यास समाप्त भयो । एक्लौटी रुपमा पार्टी हाक्ने ओली दम्भले उत्पन्न संकट भोग्दै आएको बेला २०७५ जेठ ३ गते एमाले–माओवादी एकता भयो । त्यो एकता सिङ्गो एमालेको निर्णय थिएन । ओली एक्लैले निर्णय गरेका थिए ।

कम्युनिष्ट एकता आम जनताको चाहना भएकाले माधवकुमार नेपाललगायतले पार्टी एकतामा कुनै प्रश्न गरेनन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग ओलीले गरेका गोप्य सम्झौताहरु सार्वजनिक हुँदा पनि कुनै प्रश्न उठेन । त्यसले ओलीभित्र रहेको एकतन्त्रिय निरंकुश प्रवृत्तिले बढावा पायो । त्यसको प्रभाव दुईतिहाइ बहुमतको सरकार नेतृत्व गरिरहेका ओलीको हरेक गतिविधिमा देखियो ।

त्यसको विरोध गर्दा ओली एकपछि अर्को गर्दै ‘ब्याक फायर’मा उत्रे । प्रचण्ड–माधव प्रतिरोधमा लागे । ओली अल्पमतमा पर्दै गए । ओलीका कारण उत्पन्न आन्तरिक द्वन्द्धले इतिहासकै ठूलो कम्युनिष्ट पार्टी संकटमा पर्यो ।

सबैको साथ गुमाएर अल्पमतमा परेपछि ओलीले गत पुस ५ गते असंवैधानिक कदम चाले । जुन कदमको फायर ओलीतिरै सोझियो । त्यसपछि ओलीले आफ्नै अग्रसरतामा एक भएको पार्टी नेकपाको अवसान गराए । नेकपाको अवसान गराएर नपुगेका ओली अहिले नेकपा एमाले फुटाउने अन्तिम प्रयासमा छन् । त्यसको प्रतिवाद गर्दै छन्, एमालेको स्वार्णिम युगका निर्माता माधवकुमार नेपाल, झलनाथ खनालहरु ।

ओली–अदालतको सेटिङमा नेकपा खारेज भएसँगै नेकपा एमाले ब्युँतियो । नेकपा हुँदा प्रचण्डसँग एउटै कित्तामा रहेका माधव समूह आफ्नै पार्टीमा रहेर संघर्ष गर्ने निचोडमा पुग्नु गलत थिएन । तर, कुनैपनि हालतमा माधवकुमार नेपाल, झलनाथ खनाललगायतका नेतालाई लखेटेर नेकपा एमाले सिध्याउँने ओलीको एकमात्र लक्ष्य र उद्देश्य बन्दा एमाले इतिहासकै अप्ठ्यारो मोडमा पुग्यो ।

सर्वोच्चले नेकपा एमाले ब्युँताएपछि अध्यक्षको हैसियतमा ओलीले नवौँ महाधिवेशनमार्फत निर्वाचित केन्द्रिय समितिको बैठक राख्नुपर्ने थियो । तर, ओलीले विधानविपरीत माओवादी नेताहरुलाई केन्द्रीय सदस्य बनाए । आफ्नो गुटको भेला बोलाएर विधान संशोधन गरे । फागुन २८ गते सम्पन्न गुट भेलामार्फत आलोचक सबैको पद खोसे ।

ओलीको यो कदम नेकपा एमालेको विधानविपरित थियो । विधानतः विधान संशोधन विधान अधिवेशन वा महाधिवेशनमार्फत मात्र सम्भवः छ । त्यसैले फागुन २३ गते यता ओलीले गरेका सम्पूर्ण गतिविधि माधव–झलनाथ समूहले अवैधानिक भनेको छ ।

पार्टी अध्यक्षले विधानविपरित गतिविधि गर्दै पार्टी फुटाउने खेल सुरु गरेपछि माधव–झलनाथ समूहले एमाले रक्षाका लागि भन्दै प्रतिरोध गतिविधि सुरु गर्यो । चैत ४ र ५ गते देशभरबाट नेता कार्यकर्ता बोलाएर राष्ट्रिय भेला गर्यो । जुन भेलाले असली एमाले भेलाको झल्को दियो ।

नेपाली कम्युनिष्ट आन्दोलनका ‘माइलस्टोन’ मानिएका कम्युनिष्ट आदर्श मोहनचन्द्र अधिकारीदेखि सिद्धिलाल सिंहसम्म सहभागी थिए । त्यसले जनमत माधव–झलनाथ समूहमा रहेको र ओलीको कदम विघटनउन्मुख रहेको पुष्टि गर्यो । पुरानो एमालेको झल्को दिने भेलाबाट अतालिएका ओली झन् हिंस्रक रुपमा प्रस्तुत भए ।

सबै शक्ति कब्जा गरेर ‘बहुबली’ बनेका ओली कुनै पनि समय माधव–झलनाथमाथि जाइलाग्न सक्छन् । यस्तो अवस्थामा सिंगो एमाले सम्भव छैन । ओलीकै कारण एमाले विभाजनको संघारमा पुगेको छ ।

गत शनिबार युवा भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता माधवकुमार नेपालले भनेका थिए– ‘म पार्टी अध्यक्ष केपी ओलीसँग छुट्टिइहाल्ने पक्षमा छैन । हाम्रो मायाप्रीति ४८÷४९ वर्ष पुरानो हो, त्यो एक रातमै तोडिदैँन ।’ यसको मतलव एकवद्ध एमाले नै पहिलो प्राथमिकता भन्ने हुन्छ । तर, ओलीले सोही दिन बालुवाटार गुट भेलाबाट माधवकुमार नेपालसहित चार नेतालाई कारवाहीका लागि स्पष्टीकरण सोध्ने निर्णय गरे ।

‘नेकपा एमालेको एकता बचाऔँ ! कम्युनिष्ट आन्दोलनको रक्षा गरौँ !!’ भन्ने नारासहित माधव–झलनाथ समूहले राष्ट्रिय भेला सम्पन्न गर्यो । भेलाले अध्यक्षलाई सच्याएर एउटा सशक्त कम्युनिष्ट राजनीतिक शक्तिको रुपमै रहने निष्कर्ष निकाल्यो । तर, ओलीले भने गुट भेलामार्फत सम्पूर्ण अधिकार कब्जा गर्दै माधव–भलनाथलाई सिध्याउँने नीति अवलम्बन गरे ।

सामूहिक निर्णय कम्युनिष्ट पार्टीको मेरुदण्ड मानिन्छ । त्यसैले ओलीले पार्टीका नेता तथा सांसदलाई कारबाही गर्ने एकलौटी अधिकार लिनु एकल निर्णय हुँदै निरंकुश यात्रा तय गरेकोमा दुईमत छैन । जुन अधिकार ओलीले आलोचक माधव–झलनाथ समूहमाथि प्रहार गर्दैछन् ।

राजनीतिक विश्लेषक प्राध्याक कृष्ण खनाल भन्छन्– ‘ओली नेकपा एमाले विभाज गर्ने अन्तिम प्रयासमा छन् । यस्तै गतिविधिले एमाले फुट्न धेरै समय लाग्दैन । गुट भेलामार्फत कब्जा गरेको अधिकार एमाले फुटाउन माधव–झलनाथहरुलाई प्रहार गर्दैछन् । ओलीको जुन गतिविधिले एकतावद्ध एमाले सम्भव छैन ।’

ओलीको तयारी
प्रधानमन्त्रीको रुपमा केपी शर्मा ओलीले विश्वासको मत लिनुपर्ने दिन टाढा छैन । सत्तासाझेदारीमा कुरा मिल्नेवित्तिकै नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि ओलीले विश्वासको मत लिनुपर्ने हुन्छ । तर, विश्वासको मत प्राप्त गरी प्रधानमन्त्रीको रुपमा सत्तामा रहने ओलीको चाहना पूरा हुने सम्भावना न्यून छ ।

जनता समाजवादी पार्टी (जसपा)को साथमा विश्वासको मत लिने ओलीको चाहना पूरा हुने सम्भावना कम हुँदै गएको छ । जसपा दुई धारमा विभाजित हुनेवित्तिकै ओलीको सपना चकनाचुर भयो । नेपाली कांग्रेस पनि निर्वाचन आउनै लागेको बेला ओलीको कुकृत्य थाप्लोमा बोक्न तयार छैन ।

भलै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री कार्डमा लोभिएका होलान् । तर, बहुसंख्य कांग्रेस ‘सती’ जान तयार देखिँदैनन् । त्यस्तो अवस्थामा आफूमाथि आइलाग्ने आन्तरिक संकट समाना गर्न ओलीले सम्पूर्ण अधिकार कब्जा गरेका हुन् ।

शनिबारको निर्णयअनुसार ओली गुटले माधकुमार नेपाल, भीम रावल, घनश्याम भुषाल र सुरेन्द्र पाण्डेलाई पार्टीको हितविपरित किन गतिविधि गरेको ? भन्ने प्रश्नसहित स्पष्टीकरण पत्र पठायो । ओली ‘बहुबली’करणको यो पहिलो कदम हो ।

स्पष्टीकरणमार्फत ओलीले पार्टी विभाजनको यात्रा तय गरेको माधव–झलनाथ समूहको प्रतिकृया रहेको छ । चरा नेताले स्पष्टीकरण लेख्ने तयारी गरेका छन् । तर, स्पष्टीकरण लेखे पनि चित्तबुझ्दो नभएको भन्दै कारवाही गरिएको भन्न ओलीलाई अब कुनै विधि विधानले रोक्ने छैन ।

दोस्रो चरणमा ओलीले माधव–झलनाथ समूहका अन्य नेतालाई यस्तै गर्नेछन् । यसरी नै समानुपातिक सांसदलाई पत्र पठाएर ओलीले कारवाही गर्नेछन् । पार्टीका नेता कार्यकर्तालाई आफ्नो पक्षमा नलागे ठाउँकाठाउँ कारवाही गर्ने धम्कि दिनेछन् । नमाने कारबाही गर्नेछन् ।

त्यसपछि पार्टीका सबै कमिटीमा आफ्नो बहूमत रहेको भन्दै स्वप्नकल्पमा रम्नेछन् । ओलीको यो कदम एमाले जीवनमा अर्को अप्रिय घटनाको रुपमा इतिहासले सम्झने छ ।

माधव–झलनाथको आन्तरिक तयारी
माधव–झलनाथ समूहले पार्टी बचाउन भन्दै समानान्तर गतिविधि बढाएको छ । भातृ संगठनहरुले धमाधम समानान्तर कमिटी गठन गरिरहेका छन् । राष्ट्रिय कार्यकर्ता भेलाले दिएको म्याण्डेटअनुसार पार्टीको तल्लो कमिटीसम्म समानान्तर कमिटी गठनको काम प्रारम्भ भएको छ ।

पहिलो चरणमा सबै तहमा समानान्तर कमिटी गठन गरेर पार्टी अध्यक्ष ओलीले गरेका गलत कामको भण्डाफोर गर्ने माधव–झलनाथ समूहको घोषित नीति नै हो । कम्तीमा एक महिनाभित्र यो अभियान सम्पन्न गरेर नयाँ चरणमा संघर्ष गर्ने योजनामा रहेको यो समूह यस्तै अवस्थामा रोकिने देखिँदैन ।

पार्टीका सबै तहबाट दबाब दिँदा पनि नेतृत्व नसच्चिए विद्रोहको चरणसम्म पुग्ने यो समूहले मनासय बनाइसकेको छ । तर, प्राध्याक कृष्ण खनाल भने माधव–झलनाथ समूह अनिर्णयको बन्दी बन्न नहुने मत राख्छन् । उनी भन्छन्– ‘ओलीबाट अब सिंगो एमाले सम्भव छैन । उनले एक किसिमले एमाले विभाजन गरिसके ।

यस्तो अवस्थामा नयाँ कदम चाल्न माधव–झलनाथ समूहले ढिलो गर्नु हुन्न । सत्ता र शक्तिको आडमा ओलीले भएका नेता कार्यकर्तामा क्षति पुर्याउने छन् । नेता कार्यकर्ता जोगाउने भए छिट्टै निष्कर्षमा पुगेर निर्णायक कदम चाल्नुपर्छ । नयाँ कोणबाट कम्युनिष्ट आन्दोलनको व्याख्या र नेतृत्वका लागि तयार हुनुपर्छ ।’

अबको सम्भावना र आवश्यकता
सर्वोच्चले नेकपा खारेज गरेपछि पार्टी र आन्दोलन जोगाउने काम ओली नेतृत्वमा सम्भव नरहेको निष्कर्षमा पुगेका थिए, प्रचण्ड–माधव समूह । बाध्यताले आ–आफ्नै पार्टीमा फर्कने निर्णयमा पुगेपछि पेरिसडाँडाबाट विदा हुने क्रममा प्रचण्ड र माधवकुमार नेपालबीच ‘सटिक संवाद’ भएको थियो । जुन संवादको निष्कर्ष थियो– ‘ओलीको कदमले एकीकृत कम्युनिष्ट पार्टी बनाउने सपना र लक्ष्यमा बाधा पुग्यो । छिट्टै नयाँ कोणबाट एकीकृत कम्युनिष्ट आन्दोलन अघि बढाउनुपर्छ ।’

ओलीले माधव–झलनाथ समूहलाई पेरिसडाँडा संवादको पेरिफेरीमा पुर्याएको छ । पुरानै घर सजाउने माधव–झलनाथ समूहको चाहनामा पनि ओलीले नरसंहार चलाएका छन् । त्यसको प्रतिवादमा रहेका माधव–झलनाथ समूह सफल भए, ओलीले आफ्ना सम्पूर्ण गल्ती स्वीकारेर सच्चिए नेकपा एमालेले नयाँ जीवन पाउनेछ । जुन आम एमालेजनका लागि सुखद् संयोग हुनेछ ।

यदी त्यो हुन सकेन भने ओली आडम्बरमा एमालेको दुःखद अवसान हुनसक्छ । र, नेपाली कम्युनिष्ट आन्दोलनमा ओली कलंक नेतृत्वको रुपमा दर्ज हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्