Logo
Logo

उपत्यकामा माक्स अनिवार्य, नलगाए कारबाही


दृष्टि संवाददाता


काठमाडौं । उपत्यकाका सार्वजनिक स्थानमा मास्क अनिवार्य गरिएको छ । स्थानीय प्रशासनले निर्देशन जारी गरी काठमाडौँ, भक्तपुर र ललितपुरका सार्वजनिक स्थानमा अनिवार्य रुपमा मास्क लगाउन आग्रह गरेको हो ।
छिमेकी मुलुक भारतमा कोरोना संक्रमण बढिरहेकाले नेपालमा समेत बढ्न सक्ने संकेत देखिएपछि प्रशासन मास्क लगाउन र स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न आग्रह गरेको छ ।


जिल्ला प्रशासन कार्यालय काठमाडौंले भारतमा बढ्दै गएको कोरोना संक्रमणको प्रभावस्वरुप काठमाडौँ उपत्यकामा समेत बढ्दै गएकाले सार्वजनिक यातायात प्रयोग गर्दा अनिवार्यरुपमा मास्क प्रयोग, स्यानिटाइजर र सामाजिक÷भौतिक दूरी कायम गरी स्वास्थ्य मापदण्डलाई पालना गर्न आग्रह गरेको छ ।
त्यस्तै सार्वजनिक स्थलमा भिडभाड नगर्न र घरभित्रै होली मनाउन प्रशासनले आग्रह गरेको छ ।
यस्तै, बुधबार ललितपुरमा बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले कोरोना संक्रमण बढ्न नदिन सेनिटाइजर, मास्क र सामाजिक दूरी कायम गर्नेलगायतका मापदण्ड पालना गर्न कडाई गर्ने निर्णय गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बाहिर निस्कँदा मास्क नलगाउनेलाई संक्रामक रोग ऐन, २०२० बमोजिम कारबाही गर्ने निर्णय भएको जानकारी दिए ।
यस्तै ललितपुरमा रात्रीकालीन व्यवसाय राति ११ बजेपछि सञ्चालनमा रोक लगाउने, व्यवसाय सञ्चालन गर्दा भिडभाड नहुने र स्वास्थ्य तथा सुरक्षाका तोकिएका मापदण्डहरु पालना गर्नुपर्ने व्यवस्था मिलाउन प्रशासनले आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यालय भक्तपुरले पनि भिडभाड नहुने गरी कुनै किसिमको मेला, जात्रा, सांस्कृतिक कार्य नगर्न आग्रह गरेको छ । यस्तै पहिले सञ्चालनमा आएका क्वारेन्टिन, आइसोलेसन केन्द्रलाई तयारी अवस्थामा राख्न पनि प्रशासनले निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्