Logo
Logo
जसपा विवाद

पूर्वसमाजवादीका केही सांसद सहित पूर्वराजपाको सरकारलाई साथ !


दृष्टि संवाददाता


काठमाडौं । अहिले निर्णायक बनेको जनता समाजवादी पार्टी (जसपा) भित्रको विवाद समाधान हुने छाँटकाट छैन । विवाद बढ्दै जाँदा पार्टी फुटसम्म पुग्नु अस्वभाविक नहुने नेताहरुले बताएका छन् ।

 

जसपा अध्यक्ष महन्थ ठाकुर यतिवेला जनकपुर गएकाले पार्टीभित्र छलफल हुन नसकेको एक नेताले बताए । अहिले पूर्व राजपा र पूर्व समाजवादी पार्टीका आ–आफ्नै बैठक र छलफलहरु हुने गरेका छन् । एक नेताले भने, ‘दुई पार्टीको विचार अहिले पनि जसपामा कायमै छ । समाजवादी र राजपाबीच सैद्धान्तिक सहमतिका आधारमा एकता भएको थिएन । त्यसैले यो टिक्न सक्दैन ।’

जसपाको पूर्ण बैठक नबसेको धेरै भइसकेको छ । केही समयअघि केन्द्रीय कार्यकारिणी बैठक बोलाइएको भएपनि अध्यक्ष उपेन्द्र यादवले राजनीतिक प्रतिवेदन पेश गर्न खोजेपछि बैठक स्थगित गरिएको थियो । यादवको एकल राजनीतिक प्रतिवेदनलाई पूर्व राजपाले अस्वीकार गरेको थियो ।

यता, पूर्वराजपाका नेताहरुले प्रधानमन्त्रीसँगको छलफललाई सघन बनाएका छन् । पूर्वसमाजवादीका एक नेताले भने, ‘जसपा सग्लो रहँदैन । बरु कतापट्टि धेरै सांसद रहन्छन् भन्ने मात्र हो । सरकारसँग सहकार्यका लागि पूर्वसमाजावदीबाट पनि सांसदहरु जानका लागि छलफल भइसकेको छ ।’

अध्यक्ष ठाकुर जनकपुरबाट काठमाडौं आएपछि सरकारसँग निर्णायक छलफल गरेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्ने तयारीमा पूर्वराजपा जुटेको छ । सरकारलाई समर्थन गर्नका लागि पूर्वराजपासँगै केही पूर्वसमाजवादीका सांसदहरु पनि सहमत भएको बुझिएको छ । पूर्वराजपाका एक नेताको दाबीलाई मान्ने हो भने ओलीलाई समर्थन गर्न २३ पुग्ने अवस्था छ ।

प्रतिक्रिया दिनुहोस्