Logo
Logo

‘ओलीलाई पदबाट हटाउन ढिला भइसक्यो’


दृष्टि संवाददाता


बुटवल । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट हटाउन ढिला भइसकेको बताएका छन् ।


शुक्रबार प्रेस मञ्च नेपालले बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष यादवले वैकल्पिक सरकार दिन प्रमुख प्रतिपक्षी दलले अग्रसरता लिनुपर्ने बताए । उनले सर्वोच्चको फैसलाले विघटित प्रतिनिधिसभा पुर्नस्थापित गरे पनि ओलीले फेरि विघटन गर्न सक्ने खतरा रहेकाले ओलीलाई तत्काल पदबाट हटाउनुपर्ने धारणा राखे ।
उनले भने, ‘अब प्रधानमन्त्रीलाई सरकारबाट हटाउनैपर्छ, संघीयता र गणतन्त्र पक्षधरको सरकार बन्नुपर्छ ।’ संविधान र संसदमाथि प्रहार गरेपछि प्रधानमन्त्री ओलीले अहिले पनि पुर्नस्थापित संसदलाई असफल पार्ने प्रयत्न गरिरहेको बताए । उनले भने, ‘फेरि पनि ओलीले संसदलाई भंग गर्न लागिपरेका छन् । त्यसैले जतिसक्दो पदबाट हटाउन आवश्यक छ ।’
सरकारसँग पार्टी नेताहरुले गरेको वार्ता रेशम चौधरीसहित राजबन्दीको रिहाई र पार्टी नेता कार्यकर्ताको मुद्दा फिर्ताका लागिमात्र भएको उनको भनाइ छ ।
अध्यक्ष यादवले भने, ‘राजबन्दीको रिहाई र मुद्दा फिर्ता एउटा पाटो हो, सरकारमा सहकार्य अर्को पाटो हो । ओली सरकार प्रतिगमनकारी, संघीयता, गणतन्त्र र समावेशिता विरोधी हो, त्यसैले जसपा यो सरकारमा कुनै हालतमा जाँदैन ।’

प्रतिक्रिया दिनुहोस्