Logo
Logo

फागुन २८ काे निर्णय फिर्ता नहुने, नेपाल र रावलमाथि केन्द्रीय कमिटीले कारबाही गर्ने


दृष्टि संवाददाता


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २८ गते बालुवाटारमा बैठक बसेर गरेका निर्णय फिर्ता नहुने बताएका छन् । शुक्रबार बालुवाटारमा बसेको संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले पार्टीले गरेका निर्णय वैधानिक भएको दाबी गर्दै निर्णय फिर्ता नहुने बताएका हुन् ।

बैठकमा प्रधानमन्त्री ओलीले एमाले २०७५ जेठ २ मै फर्किएको भन्दै माओवादीबाट एमालेमा आएका नेताहरुलाई पार्टी र सरकारको पक्षमा उभिएकाले उनीहरूको व्यवस्थापन मात्र भएको बताएका थिए । उनले एमालेमा अब गुटगत र समूहगत रुपमा कसैसँँग पनि छलफल नहुने समेत बताए ।

माधव नेपाल पक्षका सांसद समेत उपस्थित रहेको बैठकमा प्रधानमन्त्री ओलीले यसअघि माधव नेपाल र भीम रावलले दिएको स्पष्टीकरणको जवाफ समेत चित्त बुझ्दो नभएको बताएका छन् ।

ओलीले घनश्याम भुसाल र सुरेन्द्र पाण्डेबाट त्यस्तो स्पष्टीकरण आउने कुरामा शंका जनाए । यस्तै, नेपाल र रावलमाथि केन्द्रीय कमिटी बैठकबाटै कारबाहीको निर्णय हुने बताए ।

अध्यक्ष ओलीले आफूलाई माधव नेपालले प्रचण्डसँग मिलेर पार्टी सदस्यताबाट समेत निष्कासन गरेको स्मरण गर्दै त्यस्तो अपराध गर्नेहरूलाई पनि आफूले स्पष्टीकरणमात्र सोधेर सुधार्न खोजको बताएका थिए ।

उता, बैठकमा सहभागी भएका वरिष्ठ नेता झलनाथ खनालले पार्टी एकता जोगाउन एमालेलाई २०७५ जेठ २ कै अवस्थामा फर्काउनुपर्ने बताएका थिए । ‘यो भन्दा अगाडि गरिएका निर्णयहरु फिर्ता लिएर जेठ २ गते पुग्ने अवस्था सिर्जना नगरिए पार्टी एकढिक्का सहित परिचालित हुन सक्दैन ।’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्