Logo
Logo

रेशम चौधरी रिहाइ गर्न वार्ता टोली गठन

सत्ता लेनदेनको विषय नबनाउन आग्रह


दृष्टि संवाददाता


काठमाडाैं । थरूहट र थारुवान राष्ट्रिय मोर्चाले टीकापुर घटनाको मुद्दामा दोषी ठहर भएकालाई रिहाई गर्न वार्ता टोली गठन गरेको छ ।

अर्धभूमिगत रहेका मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारुले शुक्रबार कैलालीमा पत्रकार सम्मेलन गर्दै टीकापुर राजबन्दीको तर्फबाट वार्ता टोली गठन गरेको जानकारी दिए ।

टीकापुर घटना प्रतिशोधको नभई राजनीतिक मुद्दाका विषयमा घटेको घटना भएको बताउँदै जेल जीवन विताइरहेका कैदीबन्दीलाई तुरुन्तै निःशर्त छोड्नका लागि सरकारसँग वार्ता टोली गठन गरिएको उनले बताए ।

सरकारले मुद्दा फिर्ता नलिए फैसला पुनरावलोकनका लागि सर्वोच्च अदालतमा अपिल गर्ने निर्णय पनि भेलाले गरेको छ । एक महिनाभित्रै न्यायिक पुनरावलोकनमा जाने नेता थारूले जानकारी दिए । ‘हामी शान्तिपूर्ण रूपमा टीकापुर विद्रोहको विषय समाधान गर्न चाहन्छौँ । सरकार तयार नभए थारू समुदाय सशक्त आन्दोलनमा जान्छ,’ उनले भने, ‘त्यसको जिम्मा सरकारले लिनुपर्छ ।’

यसैबीच टीकापुर घटनामा दोषी ठहर भएकाहरू र उनीहरूका परिवारले टीकापुर घटनाको मुद्दा सत्ताका लागि लेनदेनको विषय नबनाउन आग्रह गरेका छन् । सत्ता समीकरणबारे कुनै सरोकार नभएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्