Logo
Logo
सरकार र संसदबीच तिक्तता

संसद अधिवेशन अन्त्य गर्ने प्रधानमन्त्रीको तयारी

पुनर्स्थापनापछिको संसद ‘विजनेश’ विहिन !


दृष्टि संवाददाता


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको जारी अधिवेशन अन्त्य गर्ने तयारी थालेका छन् । एमालेको संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले वर्षे अर्थात बजेट अधिवेशनको तयारीगर्नुपर्ने भन्दै जारी अधिवेशन अन्त्य गर्ने संकेत गरेका हुन् ।

प्रतिनिधिसभा विघटन गर्ने निर्णय सर्वोच्च अदालतले बदर गर्दै पुनर्स्थापनाको आदेश दिएपछि अधिवेशन आह्वान गरिएको थियो । यो अधिवेशन जारी रहँदा सरकार र संसदबीचको सम्बन्ध सहज बन्न सकेको छैन । सरकारले विजनेश नै नदिएर संसदलाई पंगु बनाउने खेल जारी राखेको छ ।

जानकारहरुका अनुसार प्रधानमन्त्री ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच देखिएको तित्ततामा सुधार आएको छैन । सभामुख सापकोटाले केही दिनअघि प्रधानमन्त्रीसँग छलफल गर्न चाहेपनि प्रधानमन्त्रीले समय दिएका छैनन् । न त प्रधानमन्त्री संसदको नेताका रुपमा नै संसद बैठकमा भाग लिएका छन् ।

यसले ओली संसदप्रति अझै अनुदार रहेको संसदीय मामिलाका जानकारहरु बताउँछन् । संसदीय प्रचलन अनुसार संसदको नेताका रुपमा प्रधानमन्त्री रहन्छन् । उनले अधिवेशन आह्वान भएपछि सम्बोधन गर्ने प्रचलन रहँदै आएको छ । यसपटक न त प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन नै गरे न त विजनेश दिन नै अग्रसर भए । यसले प्रधानमन्त्री संसदप्रति सकारात्मक नभएको पुष्टि गर्छ ।

अहिलेसम्म सरकारलाई समर्थन गर्दै आएको माओवादी केन्द्रले समर्थन फिर्ता पनि लिएको छैन भने ‘वेटिङ प्राइम मिनिष्टर’का रुपमा रहेका कांग्रेस सभापति शेरबहादुर देउवा पनि सत्ता यात्राका लागि तत्काल कुनै पहल गर्ने पक्षमा देखिएका छैनन् । यसैले पनि ओलीलाई अहिले सहज अवस्था रहेको छ । त्यही भएर प्रतिनिधिसभाको अहिलेको अधिवेशन अन्त्य गर्ने भित्रि मनशाय ओलीले राखेका छन् ।

पुनर्स्थापनापछि प्रतिनिधिसभाका बैठकहरु

प्रतिनिधिसभा पुनर्स्थापनापछि फागुनमा दुई वटा र चैतमा ३ वटा बैठक बसिसकेको छ । चैत १८ गते अर्को बैठक तोकिएको छ । अहिलेसम्म बसेका ५ वैठकले ठोस विषयमा छलफल गर्न सकेको छैन । विशेषतः हिउँदे अधिवेशनलाई विधेयक अधिवेशन पनि भन्ने गरिन्छ । तर, यसपटक केही अध्यादेश बाहेक कुनै विधेयक पनि छलफलका लागि ल्याइएको छैन ।

संघीय संरचना कार्यान्वयनका लागि कतिपय विधेयकहरु ल्याउन बाँकी नै छ । त्यसतर्फ संघीय सरकार उदासिन देखिएको छ । अहिलेसम्म बसेका ५ वटा बैठकमा केही शोक प्रस्ताव, केही अध्यादेश पेश बाहेक शुन्य समयमा सांसदहरुले आ–आफ्नो धारणा राखेका छन् ।

सत्ता समीकरणका लागि प्रभावकारी बन्न नसकेको संसद अधिवेशन

साविकको नेकपादेखि विवादमा रुमलिएको सत्तारुढ दलकै कारण प्रतिनिधिसभा ‘कोपभाजन’मा परेको थियो । तर, संसद पुनर्स्थापना भएपछि पनि सत्ता समीकरण फेरबदल हुन सकेन । संसद पुनर्स्थापना भएलगतै समर्थन फिर्ता लिन माओवादी केन्द्र हच्कियो, प्रमुख प्रतिपक्षी दल कांग्रेस पनि मौन नै बसेको छ ।

अर्को शक्ति जनता समाजवादी पार्टी (जसपा) पनि अनिर्णयको बन्दी बनेको छ । जसका कारण ओली सत्ताले निरन्तरता पाएको छ । अब आउने दिनमाथप कठिनाइ नहोस् भन्ने चाहना राखेका ओलीले अधिवेशन अन्त्य गर्ने तयारी गरेका छन् र आफ्नै नेतृत्वमा आर्थिक वर्ष २०७८/७९ को बजेट ल्याउने तयारीमा जुटेका छन् ।

उनको चाहनालाई दलहरुले अप्रत्यक्षरुपमै भएपनि पूरा गर्दै छन् । औपचारिक असन्तुष्टि संसदमै प्रवेश हुनुपर्नेमा त्यस्तो देखिएको छैन । ओली सरकारले संसदलाई पंगु बनाएको अवस्थालाई अन्य दलहरुले पनि नजानिदो पारामा साथ दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्