Logo
Logo

जनअपेक्षाअनुसार काम नभएको सभामुखद्वारा स्वीकार


दृष्टि संवाददाता


काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसदलाई जीवन्त र जनमुखी बनाउन प्रयास गरिरहेको बताएका छन् । शनिबार संसदीय मामिला पत्रकार समाजको सातौँ अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

सभामुख सापकोटाले गत पुस ५ गतेदेखि फागुन ११ गतेसम्मका गतिविधि र बहसले राष्ट्रियतालाई थप बलियो बनाएको दावी गरे । उनले निकै उतारचढाव र महान बहसपछि अहिलेको अवस्थासम्म आइपुगेको बताउँदै भने, ‘अहिले हामी एउटा महान बहसको प्रक्रियाबाट गुज्रिएर यहाँसम्म आइपुगेका छौँ । पहिला पहिला भनिने गथ्र्यो समुद्र मन्थन, त्यसैगरी हामीले एउटा समुद्र मन्थनजस्तै गरी धेरै ठूलो बहस ग¥यौँ । त्यो बहसको बीचबाट फेरि नेपालीहरुले पहलकदमी लिए र सफलता पनि हासिल गर्दैछन् ।’

उनले संसदमा जनअपेक्षाअनुसार काम नभएको स्वीकार गर्दै भने, ‘अहिले अलिकति अपेक्षाकृत ढङ्गले संसदले सिँगो राष्ट्रको, जनताको अपेक्षा पुरा गर्ने काममा प्रभावकारी भूमिका खेल्न सकेको छैनकि भन्ने खालको अथवा अलिकति सभामुखले पहलकदमी बढाउनुपर्छ भन्ने सुझाव भित्र, बाहिर, यहाँ सबैतिरबाट तपाईहरुले उठाउनुभएको छ त्यसलाई म उच्च सम्मान गर्छु ।’

संसद् बहसको थलो भएकाले त्यहाँ व्यक्त हुने विचारप्रति सद्भाव रहने पनि सभामुख सापकोटाले प्रष्ट पारे । उनले अहिले केही अन्योलता देखिएपनि निराश हुनपर्ने स्थिति नरहेको बताए ।

सभामुख सापकोटाले भने, ‘हामीले धेरै चिन्तित हुनुपर्ने, निरास हुनुपर्ने कुरा छैन किनभने समस्याहरु आउँछन् । निकै ठूलाठूला समस्या पनि आउँछन् चुनौतीपनि आउँछन् । यो बहस, वादविवाद संवाद हुँदै फेरी अन्तिम निष्कर्षमा ठिक हुन्छ । फरकै छैन । मुख्य कुरा बहस हो ।’

प्रतिक्रिया दिनुहोस्