Logo
Logo

दृष्टिका १० हेडलाइन्स् : सरकारको समर्थन एक साताभित्रै फिर्ता हुनेदेखि खाने तेलको मूल्य पुनः बढेकोसम्म


दृष्टि संवाददाता


हेडलाइन्स् :

१. सरकारलाई दिएको समर्थन एक साता भित्रै फिर्ता लिने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको घोषणा, फिर्ता नलिन आफूलाई दबाब आइरहेको खुलासा, राजनीतिक कोर्ष हप्ता दिनमा परिवर्तन हुने उद्घोष, जसपाका अध्यक्ष महन्थ ठाकुरको नेतृत्वमा सरकार बनाउन प्रचण्डको प्रस्ताव ।

२. सर्वोच्च अदालतले एमाले र माओवादी ब्युँताउने फैसला गरेकाले बाध्यताका कारण आफू एमालेमा फर्कनुपरेकोमा नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपालको दुखेसो, पार्टीभित्रै संघर्ष गर्ने तयारी गरिरहँदा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई पार्टीबाट निकाल्न षड्यन्त्र गरेको नेपालको आरोप, कठोर निर्णय लिने तयारीमा रहेको नेपालको उद्घोष ।

३. प्रतिगमन उन्मुख सरकारलाई कुनै पनि हालतमा समर्थन नगर्ने जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरको भनाइ, कांग्रेस सभापति शेरबहादुर देउवा नै प्रधानमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावको पक्षमा नजाने निर्णय लिइरहेको दावी, अहिलेको परिस्थिति प्रचण्ड–नेपाल र ओलीको बेमेलका कारण निम्तिएको भन्दै आफ्नो पार्टीको लागि सत्ता भन्दा मुद्दा ठूलो भएको ठाकुरको तर्क ।

४. प्रतिनिधिसभा विघटन गर्ने, संविधान नै कुल्चनेलाई कांग्रेसले कुनै पनि हालतमा समर्थन गर्न नसक्ने कांग्रेस नेता मिनेन्द्र रिजालको दावी, भोलिका दिनमा संसदमा विश्वासको मत लिन आए प्रधानमन्त्रीलाई मत नदिने रिजालको भनाइ, अविश्वासको प्रस्ताव ल्याए कांग्रेसले त्यसमा मत दिने रिजालको प्रष्टोक्ति ।

५. दिवंगत नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको पशुपति आर्यघाटमा अन्त्येष्टि, प्रार्थिव शरीरमा दाजु राजुराज जोशी र भतिजा सौरभ जोशीले दिए दागबत्ती, अन्त्येष्टिपूर्व नेता जोशीको शवलाई कांग्रेस पार्टी कार्यालय सानेपामा नेता÷कार्यकर्ताद्वारा श्रद्धाञ्जली अर्पण, जोशीको निधनको शोकमा कांग्रेसले तीन दिन पार्टीको झण्डा आधा झुकाउने ।

६. चीनले अनुदानमा दिएको आठ लाख डोज कोरोना भाइरसविरुद्धको खोप सोमबार नेपाल आइपुग्ने, चीनको बेइजिङस्थित विमानस्थलमा औषधि लोडिङ, खोप लिन भोलि राष्ट्रिय ध्वजाबाहक जहाज चीन जाने ।

७. कोरोना भाइरसको जोखिम जारी रहँदा आइतबार पहाडी जिल्लामा होली मनाइँदै, यस वर्ष पनि समूह बनाएर होली नखेल्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गर्यो सूचना, स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्न प्रहरीको समेत नागरिकलाई अपिल, उल्लंघन भए कारवाही गर्ने चेतावनी ।

८. गत साता सामान्य उकालो लागेको नेप्से परिसूचक यस साता करिब ३ प्रतिशत बढ्यो, अघिल्लो साताको अन्तिम कारोबार दिन २ हजार ४ सय ७५ दशमलव ९ विन्दुमा बन्द भएको नेप्से यस साता २ दशमलव ९८ प्रतिशतले बढेर बन्द, कच्चा पदार्थ र उत्पादनमा लागत बढेको भन्दै फेरि बढ्यो खाने तेलको मूल्य, सूर्यमुखी र भटमासको तेलमा दुई सातामा प्रतिलिटर २५ रुपैयाँले वृद्धि ।

९. थ्री नेसन्स कपको उपाधिका लागि नेपाल र बंगलादेश भिड्ने, जारी प्रतियोगितामा एक गोल पनि नगरी नेपाल फाइनलमा प्रवेश, नेपालमा बैशाख चार गतेबाट हुने थ्री नेशन्स टी २० सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमले होलीपछि प्रशिक्षण सुरु गर्ने नेपाल क्रिकेट संघ (क्यान)को निर्णय, थ्री नेसन्स कप खेल्न नेपाल आएको किर्गिस्तानको फुटबल टोलीसँग नेपाल आर्मी क्लवले भोलि मैत्रीपूर्ण फुटबल प्रतियोगिता खेल्ने ।

१०. र, म्यानमारमा जारी सैन्य कु विरुद्धको प्रदर्शनमा सेनाको गोली लागेर शनिवार मात्रै ९१ जनाको मृत्यु, मृतक संख्या बढ्न सक्ने अनुमान, बंगलादेशमा शनिबार पनि मोदीको विरोधमा प्रदर्शन, रेल स्टेशनमा आगो, इजिप्टमा एक अपार्टमेन्ट भत्किँदा ५ जनाको मृत्यु, फ्रान्समा एकैदिनमा कोभिड १९ बाट ४७ हजार बढी संक्रमित ।

प्रतिक्रिया दिनुहोस्