Logo
Logo
सत्ता समीकरण

जसपाका नेताहरुलाई प्रधानमन्त्रीले भने– न्यूट्रल बसिदिनुस्

निर्वाचनमै जाने प्रधानमन्त्रीको भित्रि रणनीति


दृष्टि संवाददाता


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को सबै माग पुरा गर्न अनिच्छुक देखिएका प्रधानमन्त्री केपी शर्मा ओलीले जसपाका नेताहरुलाई ‘न्यूट्रल’ बस्न आग्रह गरेका छन् । जसपा स्रोतका अनुसार प्रधानमन्त्री ओली निर्वाचन गर्ने पक्षमा छन् । आफ्ना माग तत्कालै पुरा गर्न ओलीले अलमल गरेपछि जसपाले पनि ठोस निर्णय गर्न सकेको छैन ।

जसपाका एक नेताले भने, ‘प्रधानमन्त्री ओलीजी तत्कालै हाम्रा माग पुरा गरिहाल्ने पक्षमा हुनुहुन्न । त्यसैले पनि हामी अहिले नै सरकारमा जाने पक्षमा छैनौं । त्यसमा पनि जसपाकै एउटा समूह ओलीइतरको समीकरण बनाउने लाइनमा छ । अन्योल अझै कायम रहन्छ ।’

केही अघिसम्म आफू समर्थन गर्नु आग्रह गर्दै आएका ओलीले अहिले भने नयाँ समीकरण नबनाउन र न्यूट्रल बस्न जसपालाई आग्रह गर्दै आएका छन् । निलम्बित सांसद रेशम चौधरीलाई रिहा गर्न पनि कानूनी कठिनाइ रहेको र चौतर्फी आलोचना हुन सक्ने आंकलनमा रहेका ओली जसपाको यो मागलाई वार्तामै केन्द्रीत बनाइदिने ‘मुड’मा रहेको उनी निकट एक नेताले बताए ।

संविधान संशोधन, नागरिकता विधेयक लगायतमा पनि ओली खासै उदार छैनन् । विगतमा पनि आवश्यकताका आधारमा मात्र संविधान संशोधन हुने अडान राख्दै आएका उनले अहिले नै संविधान संशोधन गर्नुपर्ने आवश्यकता नआइसकेको आफू निकटसँग बताउँदै आएका छन् ।

सरकारमै नआएपनि जसपा न्यूट्रल बसिदिए, कसैको बहुमत नपुग्ने र संविधान अनुसार प्रतिनिधिसभा विघटन गर्न बाटो खुल्ने भएकाले नयाँ समीकरण पनि बन्न नदिने दाउमा ओली रहेका छन् । उनी कम्तिमा जेठ १५ गते बजेट ल्याउँदा सम्म आफ्नै सरकारलाई निरन्तरता दिने पक्षमा छन् ।

जसपाको बाध्यता

सरकारबाट टाढा रहेको जसपाका केही नेतालाई अहिले सरकारमा जानैपर्ने बाध्यता छ । जसपाका एक नेताले भने, ‘सरकारभन्दा बाहिर रहेको धेरै भइसक्यो । अब निर्वाचन गराउँने सरकारमा सहभागी हुनुपर्ने अवस्था छ ।

सत्ता बाहिर रहँदा भोलि निर्वाचनमा जान समेत कठिनाइ हुने भएकाले अहिलेकै अवस्थामा माग पुरा नभएपनि सरकारमा जानुपर्छ भन्ने मत बलियो छ ।’ तर, प्रतिगमनको विरोधमा उत्रिएको भन्दै फेरि प्रतिगमनलाई साथ दिने गरी ओलीलाई समर्थन गर्न नसकिने लाइनमा बाबुराम भट्टराई, उपेन्द्र यादव उभिएका छन् ।

एउटा पक्ष जसरी पनि सरकारमा जानुपर्ने र अर्को पक्ष नजाने भन्ने विवादमा फँसेको जसपाका लागि थप कठिनाइ छ । ओलीलाई साथ दिने गरी सरकारमा जान महन्थ ठाकुर, राजेन्द्र महतो लगायतका नेताहरुले अहिले ‘फेस सेभिङ’ खोजिरहेका छन् । उनीहरुका केही माग पुरा गर्दिए, तत्काल ओलीसँगको समीकरण बन्ने जसपाका महन्थ ठाकुर निकट नेताले बताए ।

निर्वाचनमै जाने इच्छा

एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली मात्र होइन, कांग्रेस सभापति शेरबहादुर देउवा, जसपा, राप्रपा लगायतका दलहरु निर्वाचनमै जानुपर्ने मत राख्छन् । कांग्रेस, जसपा लगायतका दलहरुले कम्युनिष्ट सरकारले जनताको पाँच वर्षे म्याण्डेड पुरा गर्न नसकेका कारण असफल बनेकाले जनतामा नयाँ अनुमोदनका लागि जानुपर्ने अडान राख्ने गरेका छन् । तर, ओलीकै नेतृत्वमा जाने वा अर्को समीकरण बनाउँने भन्ने प्रतिपक्षी दलहरुले बाटो तय गर्न सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्