Logo
Logo

ओली समूह गुट विवाद : युवाको भेलामा सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्ण थापालाई निषेध


दृष्टि संवाददाता

375.4k
Shares

धनगढी । धनगढीमा भएको राष्ट्रिय युवा संघ नेपालको जिल्ला भेलामा नेकपा एमाले केपी शर्मा ओली समूहका सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्ण थापालाई निषेध गरिएको छ । आन्तरिक द्धन्द्ध र केपी शर्मा ओली समूह भित्रकै गुटका कारण अध्यक्ष थापालाई भेलामा निषेध गरिएको हो ।

जिल्ला भरीका करिब ३ हजार युवाका बिच सम्पन्न युवाहरूको भेलाका प्रमुख अतिथि एमाले प्रदेश इन्चार्ज लेखराज भट्ट र विशेष अतिथि एमालेका केन्द्रिय सदस्य तथा युवा संघका इन्चार्ज महेश बस्नेत थिए । धनगढीमै रहेर पनि प्रदेश अध्यक्ष कर्ण थापा युवाहरूको कार्यक्रममा नदेखिएपछि कार्यक्रम अवधीभर थापाकै बारेमा चर्चा चलेको थियो ।

महेश बस्नेत र कर्ण थापाबीच सम्बन्ध राम्रो छैन । केपी शर्मा ओलीले पहिलो पटक प्रधानमन्त्री हुँदा कर्ण थापालाई उद्योग मन्त्री बनाएका थिए । थापाले मन्त्रालय राम्रोसंग चलाउन नसकेपछि ६ महिनामै हटाएर महेश बस्नेतलाई उद्योग मन्त्री बनाएका थिए । बस्नेतले मन्त्री बन्न आफूलाई हटाएको बुझाइ थापाको रहेकोले यी दुई नेताबीच अनौपचारिक सम्बन्ध नरहेको बताइन्छ ।

राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष बच्चन बहादुर सिंह र एमाले प्रदेश अध्यक्ष कर्ण थापाको सम्बन्ध खासै राम्रो नभएको युवासंघका एक नेताले बताए । यी दुबैको गृह जिल्ला बाजुरा हो । बच्चन सिंहको थापासंग भन्दा पनि प्रदेश इन्चार्ज लेखराज भट्टसंग बढी नै हिमचिम रहेको बताइन्छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रदेश अध्यक्षको टीका लगाइदिएर जिम्मेवारी दिए पनि खासमा कर्ण थापा सुदूरपश्चिमको पार्टीपंत्तिमा रुचाइएका छैनन् ।

नेता तथा कार्यकर्ताहरुको अपमान गर्ने, तुच्छ व्यवहार देखाउने, झगडालु स्वभावका भएकाले प्रदेश अध्यक्ष थापालाई नेता मान्न नसकिने अवस्था आएको सुदूरपश्चिम एमालेका नेता तथा कार्यकर्ताहरु बताउछन् ।

थापाले बालुवाटारको फुर्ती लगाई सुदूरपश्चिममा राजनीति गर्दै आएको आम नेता कार्यकर्ताको बुझाई छ । झापा घर भएकी कमला ओलीसंग दोश्रो विवाह गरेर प्रधानमन्त्री केपी शर्मा ओलीसंग साइनो गासेका थापा बालुवाटारको सम्बन्ध भजाउदै राजनीतिमा टिकेको चर्चा गरिन्छ ।

 

 

प्रतिक्रिया दिनुहोस्