Logo
Logo

म्यानमारको रक्तपात रोक्न तीव्र दबाब आवश्यक : कांग्रेस ​


दृष्टि संवाददाता


काठमाडौं । नेपाली कांग्रेसले म्यानमारको सैनिक सत्ता हिंस्रक दमनको विरोध गरेको छ। नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आइतबार विज्ञप्ति जारी गर्दै म्यानमारको लोकतान्त्रिक आन्दोलनप्रति एक्यबद्धता जनाउन आह्वान समेत गरेको छन्।

विज्ञप्तिमा भनिएको छ, ‘म्यानमारमा पछिल्ला केहिदिन यता सैनिक सरकारले नागरिक प्रदर्शनमा नरसंहार गरिरहेको घटना र प्रवृत्ति अत्यन्तै अमानवीय र निन्दनीय छ। जनतामाथिको दमन तत्काल रोकेर निर्वाचित सरकार बहाल गर्न, लोकतन्त्रवादी नेतृ आङसाङ सुचीलगायत सबैलाई रिहाइ गर्न र लोकतन्त्र पुनःस्थापित गर्न म्यानमारको सैनिक सत्तामाथि विश्वव्यापी रूपमा तीब्र दबाब बढाउन आवश्यक देखिएको छ।’

शर्माले विश्वभर जहाँ पनि हुने लोकतान्त्रिक आन्दोलनप्रति समर्थन र एक्यबद्धता जनाउने नीति नेपाली कांग्रेसले लिंदै आएको समेत बताएका छन्। ‘म्यानमारको पछिल्लो कु लगत्तै विरोध प्रकट गरेर त्यहाँ भइरहेका घटनाक्रमलाई हामी निरन्तर नियाली रहेका छौं ।

सैनिक सत्ताले मच्चाएको रक्तपात रोक्न म्यानमारका जनताको पक्षमा विश्वभरबाट आवाज उठ्न अत्यावश्यक भएको छ’ विज्ञप्तिमा भनिएको छ। दमनका विरुद्ध लोकतन्त्रका पक्षमा फेरीपनि आफ्नो अभिमत प्रकट गर्दै म्यानमारका जनताका पक्षमा प्रष्ट रूपमा उभिएर आवश्यक अन्तर्राष्ट्रिय पहलकदमी गरिनुपर्ने आवश्यकता रहेको विज्ञप्तिमा उल्लेख छ। विज्ञप्तिमा म्यानमारका घटनाविरुद्ध एकवद्ध हुन नेपाली कांग्रेस सबै दल, संघसंस्था र सरकार समेतलाई अपील समेत गरिएको छ।

प्रतिक्रिया दिनुहोस्