होली खेल्ने क्रममा मारिएका दुई युवा कांग्रेस कार्यकर्ता « Drishti News – Nepalese News Portal
Logo

होली खेल्ने क्रममा मारिएका दुई युवा कांग्रेस कार्यकर्ता


दृष्टि संवाददाता


काठमाडौं । बागलुङको बडिगाड गाउँपालिका वडा नम्बर १० बल्देको धुरीमा होलीका अवसरमा लागेको मेलामा झगडा हुँदा मारिएका दुई युवा नेपाली कांग्रेसका कार्यकर्ता भएको खुलेको छ ।

बागलुङको गुल्मी र प्यूठानसँगको सिमाना बल्देधुरीमा आइतबार होली खेल्ने क्रममा दुई पक्षबीच झडप हुँदा दुईजनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा कांग्रेस जिल्ला कार्यसमिति बागलुङका सदस्य प्रकाश कुँवर र सक्रिय कार्यकर्ता दीपक परियार रहेका छन् ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सोमबार विज्ञप्ति जारी गर्दै बागलुङमा अमानवीय घटना घटेकोले दोषीलाई छिटो पक्राउ गरी कारवाही गर्न माग पनि गरेका छन् ।

‘बल्देधुरीमा आइतबार भएको अमानवीय घटना अत्यन्तै निन्दनीय छ । होली खेल्ने क्रममा नै भएको असमझदारी र आवेगको परिणाममा दुई युवाको हत्या भएको हो या यसका पछिल्तिर योजनाबद्ध षड्यन्त्र छ, यसको गहिरो अनुसन्धान गर्न तथा दोषीहरुलाई अविलम्ब पक्राउ गर्न नेपाली कांग्रेस सरकार समक्ष माग गर्दछ,’ जारी विज्ञप्तिमा भनिएको छ ।

सुनियोजित तरिकाले हमला गरी योजनावद्ध रूपमा हत्या गरिएको भन्दै कांग्रेसले गम्भीर ध्यानाकर्षण भएको पनि जनाएको छ । ‘घटनामा प्रकाश कुँवर र दीपक नेपाली दुई युवाले ज्यान गुमाएका छन् । कुँवर नेपाली कांग्रेस बागलुङका जिल्ला सदस्य समेत हुन्, दुवै युवाको मृत शरीर भिरबाट करिब चार सय मिटर तल भेटिनुले हत्यापछि फालिएको या भिरबाट धकेलेर हत्या गरिएको स्थिति देखिन्छ। प्रहरी अनुसन्धानलाई तीब्र बनाएर दोषी उम्कन नदिन तदारुकताका लागि नेपाली कांग्रेस सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ,’ शर्माले भनेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्