Logo
Logo

सादा पोशाकका प्रहरीले पनि फ्लोरोसेन्ट ज्याकेट लगाउनुपर्ने


दृष्टि संवाददाता


काठमाडौं, १६ चैत ।
प्रदेश प्रहरी कार्यालय, बागमतीले सादा पोशाकमा काम गर्ने प्रहरीलाई पनि निश्चित ड्रेसकोड तोकेको छ । उनीहरुले फ्लोरोसेन्ट ज्याकेट र टोपी लगाउनुपर्नै भएको छ । अपराध अनुसन्धान समुह र सम्बन्धित प्रहरी कार्यालयको नाम उल्लेख गरीएको फ्लोरोसेन्ट ज्याकेट र टोपी प्रयोगमा ल्याईएको डिआइजी बसन्त लामाले बताए ।


प्रदेश प्रहरी कार्यालयको विज्ञप्तीमा भनिएको छ,‘हाल सादा पोशाकमा रहेर अपराध अनुसन्धानसंग सम्बन्धित विभिन्न कार्यमा संलग्न हुने प्रहरी कर्मचारीहरुलाई निश्चित पोशाक र पहिचान सहित खटाउने यस बागमती प्रदेश प्रहरी कार्यालयको अवधारणा अनुसार आज मिति २०७७ साल चैत १६ गते देखी घटनास्थलमा खटिने प्रहरी कर्मचारीहरुले फ्लोरोसेन्ट ज्याकेट र टोपी लगाई खटिने भएका छन् । यस बागमती प्रदेश प्रहरी कार्यालय हेटौडा अन्तर्गतका मुद्दा चल्ने २१ वटा प्रहरी कार्यालयका घटना स्थलमा खटिने प्रहरी कर्मचारीहरुले उल्लेखित पोशाक प्रयोग गर्ने छन् । अपराध अनुसन्धान समुह र सम्बन्धित प्रहरी कार्यालयको नाम उल्लेख गरीएको फ्लोरोसेन्ट ज्याकेट र टोपी प्रयोगमा ल्याईएको हो । अनुसन्धान अधिकृत, सोको अधिकृत, सोको सहायक तथा अनुसन्धानमा खटिने अन्य प्रहरी कर्मचारीहरुको छुट्टै पहिचान र कार्य सम्पादनमा एकरुपता ल्याउने उद्देश्यले यस बागमती प्रदेश भरी घटना स्थलमा खटिने प्रहरी कर्मचारीहरुले उल्लेखित पोशाक प्रयोग गर्ने छन् ।’


मुद्दा शाखामा काम गर्ने प्रहरीले अनिवार्य रुपमा यस्तो लोरोसेन्ट ज्याकेट र टोपी लगाउनुपर्ने भएको छ । यो बागमती प्रदेशका उपत्यकाका बाहेक सबै जिल्लामा लागु हुने छ । अन्य घुमुवाका रुपमा खटिने प्रहरीलाई भने यस्तो पोशाक लागू हुने नहुने प्रष्ट पारिएको छैन ।

प्रतिक्रिया दिनुहोस्