Logo
Logo

यस्ता छन् ओलीले नेपालमाथि लगाएका संगीन आरोपहरू


दृष्टि संवाददाता


काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई कारबाही गर्दै पार्टीको दशौं महाधिवेशन आयोजक कमिटी सदस्य र पार्टीका अन्य सबै जिम्मेवारी तथा पार्टी सदस्यताबाटै हाललाई ६ महिनाको लागि निलम्बन गरेका छन् । उनले चार संगीन आरोप लगाएका छन् ।

नेपाललाई लगाइएका आरोपहरू :

१. पार्टी एकतालाई विखण्डन गर्ने, पार्टी फुटाउने, पार्टी भित्रको सहकार्य र सदभावलाई क्षतविक्षत पार्ने गरी निरन्तर अवैधानिक गुट भेला तथा पार्टीको कुभलो चिताउनेहरुसँग निरन्तर वैठक भेटघाट गरेको र उनीहरुको पक्षपोषण गर्ने कार्य निरन्तर गरीरहेको, उक्त कार्यलाई निरन्तरता दिने स्विकारोक्ति सहित अहंकार र आत्म केन्द्रीत कुराहरु उल्लेख गरी स्पष्टीकरणको जवाफ दिएको ।

२. स्पष्टीकरणमा सोधिए अनुसार आफ्नो भुलत्रुटीको स्विकारोक्ती नगरेको, कुनै आत्मसमिक्षा नगिरएको, आत्मआलोचना गर्ने कुनै प्रवृत्ति नदेखिएको, अहंकार आत्मकेन्द्रीत र स्वार्थी प्रवृत्ति प्रष्ट रुपमा देखिए, आफ्नो स्वार्थको लागि देश जनता र पार्टीको हितलाई जस्तो सुकै क्षति पुर्याउन तयार भएको आपराधिक मनोवृत्ति प्रष्ट रुपमा थप पुष्ट भएको ।

३. आपराधिक कृयाकलापहरु स्विकार्ने, भुल सुधार गर्ने, पार्टी एकता तथा पार्टीको निरन्तर विकास र उन्नतीको लागि पार्टीमा समाहित हुने साथै विगतमा भए गरिएका गलत तथा आपराधिक क्रियाकलापहरु प्रति प्रायश्चित गर्ने अवसरलाई त्यसै गम्भिरताका साथ लिनुको साटो उल्टै स्पष्टिकरण सोध्ने जस्तो अनाधिकृत र हास्यास्पद कार्य गरेको ।

४. अहिले पनि पार्टी विरोधी फाटोवादी र गुटगत क्रियाकलापहरु नेकपा एमालेकै नाममा गरिरहेको, त्यसलाई आगामी दिनहरुमा समेत निरन्तरता दिई रहनेतर्फ अग्रसरता देखिएको, पार्टीकै लागि एकताकै लागि भन्दै भ्रम फिजाएर कार्यकर्ता फसाउने र आफ्ना गलत उद्देश्य तथा मनासायका निम्ती दुरुपयोग गर्ने सम्भावना देखिएको ।

नेपाललाई पठाइएको पत्रमा उनले आफ्ना विचार र क्रियाकलापहरू सच्याई पार्टीका पक्षमा आएमा पार्टीले निलम्बन अवधिको बीचैमा घटाउने सक्ने भनिएको छ । साथै, सच्चिन दिइएको मौकालाई पार्टीको कमजोरी नठान्न समेत भनिएको छ । उता, निलम्बनपछि दृष्टि न्यूजसँग कुराकानी गर्दै नेता नेपालले आफूलाई कारवाही गर्ने अधिकार ओलीसँग नभएको दावी गरे ।

 

प्रतिक्रिया दिनुहोस्