Logo
Logo

अप्ठ्यारोमा माधव नेपाल, मैदान छोडेर नभाग्ने उद्घोष


दृष्टि संवाददाता


काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई झनै अप्ठ्यारो पारिदिएका छन् । सर्वोच्च अदालतले एमाले ब्युँताएपछि अप्ठ्यारो महसुस गरिरहेका नेपाललाई ओलीले कारबाही गरेर अझै अप्ठ्यारोमा पारेका हुन् ।

अध्यक्ष ओली नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई कारबाही गरेको छ । उनीहरू दुवैलाई ६ महिनाका लागि पार्टी सदस्यबाट निलम्वन गरिएको छ । नेपाल र रावललाई पठाएकाे पत्रमा ‘आफ्नो भुलत्रुटीको स्विकारोक्ती नगरेको, कुनै आत्मसमिक्षा नगिरएको, आत्मआलोचना गर्ने कुनै प्रवृत्ति नदेखिएको, अहंकार आत्मकेन्द्रीत र स्वार्थि प्रवृत्ति प्रष्ट रुपमा देखियो । आफ्नो स्वार्थको लागि देश जनता र पार्टीको हितलाई जस्तो सुकै क्षति पुयाउन तयार भएको आपराधिक मनोवृत्ति प्रष्ट रुपमा थप पुष्ट भएको’ भनेर उल्लेख छ ।

नेता नेपालले भने पार्टी अध्यक्ष ओलीले आफूलाई अप्ठ्यारोमा पारेपनि मैदान छाडेर नभाग्ने उद्घोष गरेका छन् । ‘स्वघोषित’ महाधिवेशन आयोजक कमिटीको अध्यक्षलाई आफूहरुमाथि कारवाही गर्ने कुनै अधिकार नभएको उनको भनाइ छ ।

नेपालले सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै भनेका छन्, ‘टुक्रा–टुक्रामा विभाजित कम्युनिष्ट आन्दोलनलाई एकिकृत, विस्तार र विकास गरेको हामीले हो । यसको रक्षा पनि हामीले नै गर्ने हो, मैदान छोडेर भागिने छैन ।’

नेकपा (एमाले) को निर्माण आफूहरुले गरेको र नवौं महाधिवेशनमा पनि आफ्नो नीति पास भएको भन्दै नेता नेपालले निराश होइन दृढ बनेर कम्युनिष्ट आन्दोलनको रक्षा गर्न अपिल गरेका छन् ।

‘सञ्चारमाध्यममा आएअनुसार आज म र कमरेड भीम रावललाई निलम्वन गरिएको भन्ने कुरालाई म अस्विकार गर्दछु । विधानविपरित एकपक्षीयरूपमा गरिएका फागुण २८ गतेका निर्णय अमान्य भएको र त्यसको आधारमा स्वघोषित महाधिवेशन आयोजक कमिटिको अध्यक्षलाई कार्वाही गर्ने कुनै अधिकार नभएको स्पष्ट पार्दछु,’ नेता नेपालले लेखेका छन् ।

उनले अघि लेखेका छन्- ‘नीति, विधि, नैतिकता, मुल्य–मान्यता र मापदण्डको पक्षमा दृढतापूर्वक उभिनुभएका सबै नेता कार्यकर्तालाई कत्ति पनि विचलित नभई सबैखाले अतिवाद, स्वेच्छाचारिता र गलत प्रवृत्तिका विरूध्दमा दृढतापूर्वक लाग्न र प्रतिवाद गर्न हार्दिक अपिल गर्दछु । टुक्रा–टुक्रामा विभाजित कम्युनिष्ट आन्दोलनलाई एकिकृत, विस्तार र विकास गरेको हामीले हो, यसको रक्षा पनि हामीले नै गर्ने हो, मैदान छोडेर भागिने छैन । नेकपा (एमाले) हामीले निर्माण गरेको पार्टी हो, नवौं महाधिवेशनमा हाम्रो नीति पास भएको हो, अतः निराश होइन दृढ बनेर कम्युनिष्ट आन्दोलनको रक्षा गरौं ।’

एमाले नेता रावलले पनि पार्टीबाट निलम्बन गर्ने ओलीको निर्णय पूर्णरूपमा अस्वीकार गरिसकेका छन् । ओलीको निर्णयको विरुद्धमा नेता रावलले भने ‘नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी भंग गरी गठन गरिएको अवैध राष्ट्रिय महाधिवेशनको अध्यक्ष स्वयं असंवैधानिक भएकाले केपी शर्मा ओलीबाट गरिएको निर्णयको भर्त्सना गर्दै पूर्णरूपमा अस्वीकार गर्दछु ।’

यसले एमाले विभाजन हुने सम्भावना बढेको छ । नेता नेपालले अलग्गै रूपमा नेकपा एमालेको पुनर्गठन गर्ने गर्न बताइसकेका छन् । जिल्ला कमिटीहरू पुनर्गठनको अभियान सुरु भइसकेको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्