Logo
Logo
संकटमा एमाले

निलम्बन गर्ने निर्णय नमान्ने नेपाल र रावलकाे अडान


दृष्टि संवाददाता


काठमाडाैं । नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेको कारवाही कुनै पनि हालतमा नमान्ने चेतावनी दिएका छन् ।

सोमबार दुवैलाई अध्यक्ष ओलीले स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै पार्टी विरोधी गतिविधि गर्दै हिँडेको लगायतका संगीन आरोप लगाउँदै ६ महिना पार्टीबाट निलम्बन गरेसँगै नेता नेपाल र रावलले कारवाही नमान्ने बताएका हुन् ।

नेता नेपालले आफूलाई पार्टी अध्यक्ष केपी ओलीले कारवाही गरेको विषयमा थप प्रतिक्रिया दिँदै आफू मैदान छाडेर नभाग्ने बताएका छन् । ‘स्वघोषित’ महाधिवेशन आयोजक कमिटीको अध्यक्षलाई आफूहरुमाथि कारवाही गर्ने कुनै अधिकार नभएको उनको भनाइ छ ।

नेपालले सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै भनेका छन्, ‘टुक्रा–टुक्रामा विभाजित कम्युनिष्ट आन्दोलनलाई एकिकृत, विस्तार र विकास गरेको हामीले हो । यसको रक्षा पनि हामीले नै गर्ने हो, मैदान छोडेर भागिने छैन ।’

नेकपा (एमाले) को निर्माण आफूहरुले गरेको र नवौं महाधिवेशनमा पनि आफ्नो नीति पास भएको भन्दै नेता नेपालले निराश होइन दृढ बनेर कम्युनिष्ट आन्दोलनको रक्षा गर्न अपिल गरेका छन् ।

उता, नेता रावलले आफू र माधव नेपालमाथिको कारवाहीलाई निरंकुश र स्वेच्छाचारी कुकृत्यको संज्ञा दिएका छन् । वक्तव्य जारी गर्दै देशभक्तिपूर्ण आवाजबाट त्रसित वाह्य शक्तिप्रतिको दावेदारी भन्दै ओली अवैधानिक अध्यक्ष रहेको उनको दावी छ ।

नेता नेपाल र रावलबाहेक नेपाल समूहका नेता योगेश भट्टराईले पनि सामाजिक सञ्जालमा यो निर्णय फिर्ता लिनुपर्ने बताएका छन् । कारवाही नमान्ने दुवै नेताको अडानले एमालेमा थप विरोध उत्पन्न हुने निश्चित भएको छ ।

पार्टीभित्रै पनि दुई नेतालाई गरिएको कारवाहीले पार्टी फुटको अवस्था उन्मुख हुँदै गएको आंकलन लाउन थालिएको छ ।

प्रतिक्रिया दिनुहोस्