Logo
Logo

भष्टाचार लुकाउन गाडी उपहार


दृष्टि संवाददाता


काठमाडौं । देशमा भ्रष्टाचार नियन्त्रण गर्ने दुई प्रमुख निकायमध्ये अख्तियार दुरुपयोग अनुसन्धान आयोग र महालेखा परीक्षकको कार्यालय हुन् । तर, यिनै कार्यालयमा समेत भ्रष्टाचार हुने गरेको पाइएको छ ।

महालेखा परीक्षकको कार्यालयले यतिबेला देशभरीका सरकारी कार्यालयमा लेखा परीक्षण गरिरहेको छ । नियमअनुसार आर्थिक खर्च भए/नभएको महालेखाले हेर्ने गर्दछ । तर, अनियमितता लुकाउन महालेखालाई समेत भाग छुट्याउने प्रवृत्ति व्यापक देखिएको छ । पछिल्लो समय खुलमखुल्ला यस्तो चलखेल हुन थालेको छ ।

काठमाडौं महानगरपालिकाले अनियमितता लुकाउन महालेखाका कर्मचारीलाई गाडी उपहार दिएको छ । महानगरपालिकाको नाममा रहेको एक गाडीमा रातो नम्बरप्लेट राखेर महालेखाका कर्मचारीलाई प्रयोग गर्न दिइएको छ । प्रदेश ३–०१–०२३ च ३७२३ नम्बरको सो गाडी काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले बेरुजु लुकाउन महालेखाका कर्मचारीलाई दिएका हुन् ।

महानगर स्रोतका अनुसार सो गाडीमा केही महिनाअघिसम्म सहसचिव ज्ञवालीकै घरमा थियो । महानगरको बजेटबाट किनिएको सो गाडी उनले परिवारको प्रयो्जनका लागि प्रयोग गरेका थिए । केही महिनायता महानगरपालिकाको लेखा परीक्षणमा संलग्न महालेखाका कर्मचारीलाई सो गाडी दिएका छन् । अनियमितता छानबिन गर्ने संवैधानिक निकायले यसरी छानबिन भइरहेकै निकायको गाडी प्रयोग गरेको देखेर महानगरकै कर्मचारी चकित छन् ।

महानगरपालिकामा कोरोना नियन्त्रणका नाममा करोडौं खर्च भएको छ । वास्तविक खर्चभन्दा दोब्बर बिल बनाएर अनियमितता भएको छ । नियम मिचेर कर्मचारीले अथाहा सुविधा दिइएको छ । त्यसैलाई लुकाउन लेखापरीक्षणका क्रममा महालेखालाई प्रभावीत पार्ने काम भएको छ । यस्तै लोभमा परेका महालेखाका कतिपय कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत यसअघि मुद्दा चलाएको थियो ।

प्रतिक्रिया दिनुहोस्