Logo
Logo

सशस्त्रमा देउवाको चलखेल


दृष्टि संवाददाता


काठमाडौं । वृत्ति विकास योजना नहुँदा सशस्त्र प्रहरीका सिनियर अधिकृतहरुको करिअर त्यसै पनि चौपट छ, अझ स्टाफ कलेजसम्बन्धि नियमले अर्काे तनाव थपेको छ । स्टाफ कलेजको प्रवेश परीक्षामा नै सशस्त्र प्रहरीका धेरै डिएसपी÷एसपी फेल हुने गरेका छन् । स्टाफ कलेज नगर्नेलाई एसएसपीभन्दा उत्तिर्ण नगर्ने सशस्त्र प्रहरी नियमावलीमा छ ।

जसकारण धेरै अधिकृतका लागि स्टाफ कलेजको प्रवेश परीक्षा फलामे ढोका बन्दै भएको छ । तर अवस्था कस्तो छ भने, सो प्रवेश परीक्षामा कोटा भन्दा थोरै मात्र उत्तिर्ण हुँदै आएका छन् । परीक्षा नै अत्याधिक कठिन भएको भनेर कतिपयले आलोचना गर्दै आएका छन् ।

सशस्त्रका केही पावरफुल प्रहरी अधिकारी समेत प्रवेश परीक्षामा फेल भएका छन् । तर, त्यस्तालाई चोरबाटोबाट स्टाफ कलेज गराउने चलखेलले संगठनमा अर्काे तरंग उत्पन्न गरेको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालको सचिवालयमा कार्यरत एसपी दीपेन्द्र कुँवर स्टाफ कलेजको प्रवेश परीक्षामा पटक पटक फेल भएका अधिकृत हुन् । तर जसरी पनि उनलाई स्टाफ कलेज गराउने दबाब माथिल्लो निकायको छ । किनकि, उनी कांग्रेस सभापति शेरबहादुर देउवाका पिए भानु देउवाका बहिनीज्वाई हुन् । अर्काेतर्फ आईजिपी खनालका पनि प्यारा । त्यसैले उनलाई अहिले चोरबाबाटो स्टाफ कलेज गराउन लागिएको छ । नेपाली सेनाको स्टाफ कलेजमा उनको नाम पठाउन लागिएको छ ।

जबकि, सशस्त्र प्रहरीको स्टाफ कलेज कार्यविधि २०७६ को बुँदा ११ मा प्रवेश परीक्षामा प्रथम र दोस्रो हुनेमध्येबाट सेनाको स्टाफ कलेजमा पठाउने प्रावधान छ । त्यो प्रावधान नै संशोधन गरी कुँवरलाई स्टाफ कलेज पठाउने तयारी भइरहेको स्रोत बताउँछ । यसविरुद्ध केही अधिकृतले गृह मन्त्रालयमा समेत मौखिक उजुरी दिइसकेका छन् । सशस्त्र प्रहरीमा व्यक्तिका लागि पटक पटक नियमावली संशोधन हुँदै आएको छ । यसपटक पनि त्यस्तै हुने आशंका बढेको छ ।

उता सशस्त्र प्रहरी बलको स्टाफ तथा कमाण्ड कलेज छनौटको लिखित परीक्षामा १० जना पास भएका छन् ।
परीक्षमा पास हुनेमा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकहरु मनीष थापा र कृष्ण ढकाल, सशस्त्र प्रहरी नायब उपरीक्षकहरु दलबहादुर पाण्डे, जनक सापकोटा, मोहनबहादुर क्षेत्री, प्रमोद कुमार भारती, चेतराज जोशी, राधेश्याम धिमाल, सन्तोष बहादुर सिंह र सुरेश गैरे छन् । उनीहरुको प्रस्तुतीकरणसम्बन्धि परीक्षा भने बाँकी नै छ ।

त्यस्तै सशस्त्र प्रहरीमा दुई एआइजीको पदावधि थप्ने नथप्ने विषयमा पनि राजनीति हुने देखिएको छ । एआइजीद्धय पुष्पराम केसी र रामशरण पौडेलको चार वर्ष पदावधि आगामी बैशाख २० मा सकिदैछ । महानिरीक्षकको सिफारिसमा एक वर्ष पदावधि थप हुने प्रावधान छ । उनीहरुलाई रोक्न केही अधिकारीहरु लागेका छन् । पदावधि थप भए केसी करिब एक महिनाका लागि महानिरीक्षक हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्