Logo
Logo

टंक आङ्बुहाङलाई माओवादी केन्द्रले साेध्याे २४ घण्टे स्पष्टीकरण


दृष्टि संवाददाता


काठमाडौं । पार्टी परित्याग गरी नेकपा एमाले ओली समूहमा प्रवेश गरेर प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री बन्नुभएका टङ्क आङ्बुहाङलाई नेकपा माओवादी केन्द्रले स्पष्टीकरण सोधेको छ । मंगलबार माओवादी केन्द्र प्रदेश १ को संसदीय दलले उनलाई स्पष्टीकरण सोधेको हो ।

‘तपाईंले मिति २०७७ फागुन २८ गते निर्वाचित दलभन्दा अर्को दल नेकपा एमालेको केन्द्रीय कमिटी सदस्यको हैसियतले सपथ ग्रहण गरेको भनी आमसञ्‍चारमा आएको सूचना, तपाईंले निर्वाचित दलको कुनै निर्णय र अनुमति बेगर अरु नै दलको मन्त्रिपरिषद्‌मा सहभागी भएको जस्ता गैरदलीय कार्य गर्नुभएकोले यो स्पष्टीकरण लेख्‍ने कार्य भएको छ,’ प्रमुख सचेतक झलकबहादुर मगरद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ ।

आङ्बुहाङ केही दिनअघि माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका थिए । मुख्यमन्त्री शेरधन राईले उनलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

आङ्बुहाङ गत निर्वाचनमा माओवादी केन्द्रको तर्फबाट ताप्लेजुङ १ (ख) बाट विजयी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्