Logo
Logo

सरकारलाई दिएको समर्थन फिर्ता लिँदै माओवादी, प्रचण्डले भेटे देउवा र भट्टराई


दृष्टि संवाददाता


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष बाबुराम भट्टराईसँग भेटवार्ता गरेका छन् ।

मंगबार एमाले र माओवादी ब्युँताउने सर्वोच्च अदालतको फैसलाविरुद्ध पुनरावलोकन गर्ने निर्णय गरेसँगै माओवादी अध्यक्ष प्रचण्ड कांग्रेस सभापति देउवा भेट्न बुढानिलकण्ठ पुगेका हुन् ।

सभापति देउवाका स्वकीय सचिव भानु देउवाका अनसार दुई नेताबीच झण्डै आधा घण्टा छलफल भएको थियो । छलफल समसामयिक विषयमा भएको उनले बताए ।

यद्यपी, केही दिन अघि मात्रै अध्यक्ष प्रचण्डले यसै साताभित्र एमालेलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेकाले त्यसपछि विकसित हुने राजनीतिक घटनाक्रमका विषयमा छलफल भएकाे हाे ।

देउवा भेटेर निस्किएका प्रचण्ड त्यसलगत्तै जसपाका नेता भट्टराई भेट्न  पुगेका थिए । राजनीतिक कोर्स चाँडै परिवर्तन हुने बताएका प्रचण्डले भट्टराईसँग पनि भेटेर आगामी दिनमा बन्ने सरकारका विषयमा छलफल गरेका हुन् ।

जसपाका अध्यक्ष महन्थ ठाकुर एमालेसँग प्याकेजमा सहमति गर्ने तयारी गरिरहँदा त्यसलाई रोक्न र अविश्वासको प्रस्ताव दर्ता भएपछि मिलेर अघि बढ्नुपर्ने समेत भेटमा कुराकानी भएको थियो ।

अन्तरक्रियामा प्रचण्डले भनेका थिए, ‘मैले प्रतिगामी भनेको सरकारलाई समर्थन गरिरहन सक्दिनँ । केही दिनमै समर्थन फिर्ता लिन्छु’ । यसैलाई आधार मान्ने हो भनेपनि माओवादी आजभोलि नै समर्थन फिर्ता लिने तयारीमा जुटेको छ । यसैको तयारी स्वरूप मंगलबार नै माओवादी केन्द्रले नेकपा खारेजीविरुद्ध सर्वोच्चमा पुनरावलोकन निवेदन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्