Logo
Logo

जसपाले निर्णय नगर्दासम्म कांग्रेस सत्ता समीकरणमा मौन रहने


दृष्टि संवाददाता


काठमाडौं । सत्ता समीकरणमा अहिले निर्णायक बनेको जनता समाजवादी पार्टीले ठोस निर्णय नलिंदा प्रमुख प्रतिपक्षी दल कांग्रेस पनि अलमलमा परेको छ । हिजो (मंगलबार) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेससँग प्रष्ट धारणा मागेका थिए ।

देउवा निवासनै पुगेर अध्यक्ष प्रचण्डले सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका हुन् । सत्ता समीकरणबारे कांग्रेसले प्रष्ट धारणा बनाओस् भन्ने अध्यक्ष प्रचण्डको चाहना रहेको उनी निकट एक नेताले बताए ।

तर, कांग्रेस सभापति देउवा अहिलेकै अवस्थामा आफ्नो पनि बहुमत नपुग्ने र जसपाको पनि प्रष्ट लाइन नआउँदा निर्णय दिन सक्ने अवस्थामा छैनन् । हिजो उनले जसपासँग छलफल गरेर ठोस निर्णय गर्ने आश्वासन प्रचण्डलाई दिएका छन् । तर, देउवाले प्रचण्डलाई ढुलमुले र जसपाभित्रको विवाद रहेका कारण दुबैसँग सत्ता सहकार्यको जोखिम देखेका छन् ।

उनी निकट एक नेताका अनुसार प्रचण्ड र जसपा दुबैलाई विश्वास गरिहाल्ने अवस्था छैन, यदि सरकारको नेतृत्व गरेपनि काम गर्न धेरै समस्या हुने बुझाइमा सभापति देउवा छन् । ति नेताले भने, ‘नयाँ सत्ता समीकरणमा धेरै कठिनाई रहेको सभापति देउवाको बुझाइछ । तर पार्टीको १४ औं महाधिवेशन र आफ्नै सरकारले निर्वाचन गराइहाल्ने अवस्था बन्दा सभापति सरकारको नेतृत्व गर्न तयार हुनुहुन्छ ।’

यता, जसपाभित्र दुई खेमा रहेको छ । एउटा बाबुराम भट्टराई र उपेन्द्र यादव समूह प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्पमा जानै पर्ने अडानमा छ भने महन्थ ठाकुर, राजेन्द्र महतो समूह माग पूरा गराएर यही सरकारमा जानुपर्ने अडानमा छन् ।

प्रतिक्रिया दिनुहोस्