Logo
Logo

म्यान्मारमा सेनाको दमनविरुद्ध अखिलद्वारा दूतावास घेराउ


दृष्टि संवाददाता


काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले बुधबार नेपालस्थित म्यानमारको राजदूतावास घेराउ गरेको छ ।
म्यानमारमा सैन्य कू पछि भएका दमनविरुद्ध ज्ञापनपत्रसहित ललितपुरस्थित दूतावास अगाडि प्रदर्शन गरेको हो । दुतावास घेराउ गर्दै उनीहरुले ‘म्यानमारमा लोकतन्त्र बहाली गर, सैन्य नरसंहार बन्द गर, म्यानमारको सैन्य कू बन्द गर’जस्ता नारा लगाएका छन् ।
म्यानमारको नागरिक आन्दोलनप्रति ऐक्यबद्धता जनाउदै लोकतन्त्र बहालीको पक्षमा क्रान्तिकारीले दुतावास घेराउ गरेको हो । म्यानमारको जनताको पक्षमा त्यहाँको स्वतन्त्रताको पक्षमा,त्यहाँको प्रजातन्त्रको पक्षमा र सैन्य दमनको विरुद्धमा दूतावास घेराउ र ज्ञापनपत्र बुझाइएको क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले बताए ।
अहिलेको २१औं शताब्दीको समयमा पनि मानवअधिकारको चिरहरण गर्र्दै नागरिकहरूमाथि चरम दमन भएको भन्दै उनले संसारभरीबाट म्यानमारको सैन्य कू र जनतामाथिको दमनको बिरोधमा उठ्न आवश्यक रहेको धारणा राखे ।
माघ १९ गतेको सैन्य कू पछि म्यानमारमा दैनिक जुन्ता सरकारविरुद्ध विरोध प्रदर्शन भइरहेको छ । सेना र प्रहरीसँगको मुठभेडमा सयौँ प्रदर्शनकारीको मृत्यु भइसकेको छ ।
मृत्यु हुनेमा बालबालिकासमेत रहेका छन् । प्रदर्शन बढ्दै जाँदा सैन्य सरकारले नागरिकमाथि दमन बढाउँदै गरेको स्थानीय संचारमाध्यमले उल्लेख गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्