Logo
Logo

हिमालपारीको जिल्लाका नामबाट चिनिने मुस्ताङ



मुस्ताङ साविकको पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत धौलागिरी अञ्चलको सबैभन्दा उत्तर भेगमा अवस्थित जिल्ला हो। अहिले गण्डकी प्रदेशमा पर्दछ । हिमालपारीको जिल्लाका नामबाट चिनिने मुस्ताङ जिल्ला धौलागिरी र निलगिरी दुई अग्ला हिमशिखरबीच अवस्थित छ ।

करिब तीन हजार वर्ष भन्दा अगाडिको पुरातात्विक उत्खनन्बाट देखिएअनुसार यो क्षेत्र परापूर्वकालमा नेपाल र तिब्बतबीच मुख्य व्यापारिक मुख्य नाका रहेको बुझिन्छ । मुस्ताङको सदरमुकाम जोमसोम हो। पूर्वमा मनाङ, पश्चिममा डोल्पा, दक्षिणमा म्याग्दी र उत्तरमा तिब्बत पर्दछ । उत्तर–दक्षिण लम्बाई करिब ८० किलोमिटर र चौडाई बढीमा ४५ किलोमिटर छ । अन्नपूर्ण हिमश्रृङ्खलाको उत्तरमा पर्ने भएको हुनाले यहाँ एकदमै कम पानी पर्दछ ।

मुस्ताङको बीच भाग भएर कालीगण्डकी नदी बग्दछ । यस नदीलाई स्थानीय भाषामा थाक खोला भनिन्छ। धेरैजसो बस्ती नदी किनारमा छ । उत्तरी भागमा रहेको क्षेत्रलाई लोमान्थाङ भनिन्छ । जुन त्यो नेपालकै एक विशेष क्षेत्र हो । अक्षांशः २८.२०’ उत्तरदेखि २९.०५’, देशान्तरः ८३.३०’ पूर्वदेखि ८४.१५’ को भौगोलिक अवस्थितिमा रहेको मुस्ताङको सीमाना पूर्वमा मनाङ, पश्चिममा डोल्पा, उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत र दक्षिणमा म्याग्दी पर्दछ ।

३ हजार ५ सय ७३ वर्ग किलोमिटरमा फैलिएको मुस्ताङमा लेते खोला, सेते खोला, घट्टे खोला, लाङक्यु खोला, टुकुचे निमूङ निमूङ क्यू खोला, टुकुचे म्हङछिन् खोला, टुकुचे म्हारच्यां क्यू खोला (चोखोपानी),चिमाङ खोला टुकुचे ताक्सांग खोला, मार्फा खोला, ठिनी खोला, स्याङ खोला, बोक्सी खोला, पाण्डा खोला, लुप्रा खोला, साङ्ता खोला, झोङ खोला, नरसिङ खोला, समर खोला, ताग्ंया खोला, घमी खोला, दामोदर कुण्ड खोला, चराङ खोला, यारा खोला, समराङ खोला, नाम्ग्याल खोला, किमलिङ खोला, ङ्याम्डो खोला, न्हेचुङ खोलाले मनोरमता थपेको छ ।

मुक्तिनाथ मन्दिर, दामोदर कुण्ड, कागबेनी, शिवालय मन्दिर (पुथाङ), गणेश मन्दिर (जोमसोम) टुकुचे गोम्पा कोबाङ, टुकुचे क्युपर् गोम्पा, टुकुचे गोम्पसम्प, टुकुचे मकल् गोम्पा, टुकुचे रानी गोम्पा, मार्फा गोम्पाले सबैको मन लोभ्याएको छ । लोमान्थाङ ऐतिहासिक दरबार, लोमान्थाङको सिटी वाला, मुक्तिनाथ क्षेत्र, टुकुचे निलगिरी हिमाल, धौलागिरी हिमाल, तिलिचो पिक, याककावा पिक, टुकुचे धम्पुस पिक, टुकुचे पिक, हिमाल टुकुचे मार्चे लेख, टुकुचे बतासे लेख, टुकुचे नाथाङ खर्कलगायतका प्रमुख पर्यटकीय स्थलले विश्वकै ध्यान तानिरहेको छ ।

दामोदर कुण्ड, ढुम्बा ताल, टिटी ताल, सेकोङ तालले पनि पर्यटकलाई मन्त्रमुग्ध बनाउँछ । मुस्ताङको रातो स्याऊ, नुन खानी तेताङ नरसिंह खोला (छुसाङ), गोल्डेन स्याउ, शालिग्राम (कालिगण्डकी किनार र दामोदर कुण्ड खोला) फापर, आरु, चेरी आरु थप आकर्षण हुन् । मुस्ताङ पुगेपछि जोमसोम, मुक्तिनाथ, लोमान्थाङ, नेपाल र तिब्बतको पुरानो मुख्य व्यापार केन्द्र टुकुचे नपुगी फर्किन मन नै मान्दैन । उच्च पहाडी दुर्गम हिमाली जिल्ला भएकाले यहाँको जनजीवन भिन्नै छ। सदरमुकामदेखि उत्तर तिर भोटे गुरुङ, विष्ट र ठकुरी जातिको बाहुल्य छ भने दक्षिणतिर थकाली समुदायको अतिरिक्त दलित तथा अन्य जातिको बसोबास छ । गुरुङ तथा थकाली जाति बौद्ध धर्म मान्छन् भने दलित तथा अन्य जाति हिन्दू धर्ममा आस्थावान देखिन्छन् ।

स्थानीय बासिन्दाले प्रयोगमा ल्याउने भेषभूषा र पहिरन यहाँको परम्परा, मौसम तथा हावापानीअनुरूप रहेको पाइन्छ। उत्तरी भेगका पुरुषको पहिरनमा खाम्से, साम्सेर, ढोचा, उनी टोपी प्रमुख हो भने भने महिलाहरु बक्खु, होङजु, पाङदेन, किटी लगाउँछन् ।

तल्लो भेगका थकालीमा पुरुषले दौरा, सुरुवाल, कोट लगाउँछन् भने महिलाले गुन्यू, न्होकन, टेकी, फिकी, पटुका, चोलो लगाउँछद् । पारम्परिक गहनामा मुगाको माला, सुनको विविध गहना लगाउने गरेको पाइन्छ । उत्तरी सीमाक्षेत्रतर्फ तिब्बती भाषासँग मिल्दो गुरुङ भाषा बोलिन्छ भने दक्षिणि भेगमा थकाली भाषा बोलिन्छ । तल्लो मुस्ताङमा नेपाली भाषा नै बढी प्रयोग हुने गर्छ ।

जातिगत विविधिताका कारण सामाजिक रीतिरिवाज र प्रचलन फरक पाइन्छ छ । उत्तरी भेग, तिब्बती संस्कृतिबाट प्रभावित छ भने दक्षिणी भेगमा छिमेकी जिल्लाको पनि केही प्रभाव देखिन्छ । बौद्ध धर्म बढी मानिने हुनाले घ्याङ र गुम्बामा पूजाआजा गर्ने लामा, झुमा बस्ने परम्परा छ। छोर्तेन, म्हाने निर्माण गर्ने चलन छ । घर र गाउँको रक्षार्थ मूलढोकामा याक, भेडाको टाउको झुन्ड्याउने, गाउँ वरपर ढुंगाको धार्मिक ग्रन्थका मन्त्र लेख्ने,परम्परागत म्हाने निर्माण गर्ने र हिँडदा म्हानेलाई दाहिने पारेर हिँडने चलन छ।

बौद्ध धर्मअनुसार, प्रत्येक बौद्धधर्मावलम्बीले परिवारको माहिलो छोरालाई लामा र माइली छोरीलाई झुमाका रूपमा गुम्बामा चढाउनु पर्ने प्रावधान छ। यसरी गुम्बामा चढाइएका झुमा र लामाले विवाह नगरी आजीवन ‘सुकुमार सुकुमारी’ बस्नुपर्ने प्रचलन छ । लोपोउन्मुख बहुपति प्रथाको चलन पनि कहीँ कहीँ भेटिन्छ । उपल्लो भेगका गाविसहरूबाट जाडोमा देशको तल्लो भेग र भारत गई जाडो छल्नुका साथै व्यापार गरी केही आर्थिक आयआर्जन गर्ने चलन छ ।

फागुपूर्णिमा थकाली समुदायमा सबभन्दा ठूलो चाडको रूपमा लिइन्छ । तीनदेखि सात दिनसम्म मनाईने यो पर्व मुख्य पितृदेवलाई पूजाआजा गरी पितृदेवको आशीर्वादले परिवारलाई रोगब्याध नहुने, घरमा धनधान्यले भरिपूर्ण हुन्छ भन्ने विश्वास लिएर गरिन्छ । मीठा परिकार खाने गरिन्छ । पुरुषले धनुवाण लिएर तारो खेलबाट मनोरञ्जन लिन्छन्। ल्होसार उपल्लो भेगको मुख्य चाड हो ।

तिबतीय क्यालेण्डरको नयाँ वर्षोको उपलक्ष्यमा मनाइने यो चाडमा खाने नौ बिज मिसाएर बनाइने छगुँ अति पवित्र मानिन्छ । यो खोले खाएपछि मृत्युपश्चात शान्ति पाइने किम्वदन्ती छ । नववर्षो पहिलो दिनदेखि मीठो परिकार खाने, राम्रा बस्त्र र गहना लगाउने र शुभकामना आदानप्रदान र तेश्रो दिन शुभ चिन्ह अङ्कित ध्वजा पवित्रस्थलमा लगेर फहराइन्छ।

यसैगरी, तिजी पर्व माथिल्लो मुस्ताङमा बसोबास गर्ने गुरुङ, विष्टको मुख्य पर्व हो । समान्यतया, अन्य पर्वमा जस्तै यो पर्वमा पनि मानिस आफनो आर्थिक हैसियतअनुसार खानपान, नयाँ लुगा गहना लगाउने, गुम्बा, छोर्तेनमा सामूहिक पूजाआजा र नाचगान गर्छन् ।

यसका अलावा बाह्र गाउँलेको बसोबास रहेको मुक्तिक्षेत्रमा यार्तुङ, धच्याङ, त्हेकप, बक्छाम (लामा नाच), फाँङगेल (खेतीपातीको काम सिद्धिएपछि खाँदै गरिने रमाइलो र आराम) चार्डपर्व मनाइन्छ । यसबाहेक स्थानीय हिन्दू धर्मावलम्बीले दशैँ, तिहार र तीज तथा हरितालिका चाडपर्व मनाउँछन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस्