सम्बन्धविच्छेदले धर्मालाई देखाएको बाटो « Drishti News – Nepalese News Portal
Logo

सम्बन्धविच्छेदले धर्मालाई देखाएको बाटो


हिक्मत बम


धनगढी । धर्मा सिंह, उमेरले ४० वर्ष । उनी धनगढी उपमहानगरपालिका–३ विशालनगरकी समान्य परिवारकी महिला हुन् । तर, पछिल्लो समय सिंहको परिचय बदलिएको छ । उनी एक सफल महिला उद्यमीका रूपमा समेत चिनिन्छिन् ।

‘श्रीमानले साथ छोड्नुभयो’ धर्मा सिंहले भनिन्, ‘उहाँले अर्को विहे गर्नुभयो । हाम्रो सम्बन्धविच्छेद भइसक्यो । अंशबण्डा गर्दा छोराछोरी मेरै भागमा परेको छ ।’

 

श्रीमानसँग सम्बन्धविच्छेद भइसकेपछि धर्माले सपना बुन्न थालिन् । कम लगानीमा घरेलु उद्योग सञ्चालन गर्ने र त्यसलाई बृहत बनाउने उनको सपना थियो । त्यही सपना पूरा गर्न उनले ५० हजार लगानीमा सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीको विशालनगरस्थित डल उद्योग खोलिनन् । जहाँ थोरै लगानीमा धेरै आम्दानी गर्ने र आफूजस्तै अन्य महिलाहरुलाई रोजगारी दिने उनको सपना छ ।

सानो लगानीमा सञ्चालनमा ल्याएको डल उद्योगमा बालबालिकालाई मनोरञ्जन हुने र विभिन्न कार्यक्रमहरुमा पनि प्रयोग हुने खोलौन तथा गिफ्टका सामग्रीहरु उनी बनाउने गर्छिन् । आफूले उत्पादन गरेका खेलौना सामग्रीहरु बिक्री वितरण गर्न कैलालीमा हुने मेला–महोत्सवमा स्टल राख्ने गर्छिन् उनी ।

मेला महोत्सवमा राख्ने स्टल महिलाहरुका लागि र सानो लगानीमा ठूलो व्यवसाय गर्न खोज्नेका लागि प्रेरणाको स्रोत बनेको छ । उनी कहाँ सबैभन्दा ठूला डल ३ हजार र साना २० रुपैयाँसम्मका सामग्रीहरु छन । उनले भनिन, ‘तर मैले ३ हजारमा बेच्ने डललार्ई धनगढी बजारमै ५ हजारमा बेच्ने गरेका छन् ।’
मासिक रूपमा ४० हजारसम्म कारोबार गरिरहेकी सिंहले अहिले निकै समस्या खेपिरहेकी छन् । एकातिर कोरोना कहरका कारण उद्योगका लागि आवश्यक सामग्री ल्याउन सकिरहेकी छैनन् । अर्कातिर उत्पादित वस्तु तथा सामग्रीले बजार पाइरहेको छैन ।

धर्माको विगत

१६ वर्षकै उमेरमा बिहे गरेकी धर्माको १७ वर्षमा छोरी पाइन् । श्रीमानको कमाई केही नहुँदा बिहे गरेको केही समयमै घरपरिवार धान्ने सबै जिम्मेवारी उनले सम्हालिन् । त्यसपछि आफैँ कमाउन थालिन् । उनले भनिन्, अहिले छोराछोरीहरू क्याम्पस पढिरहेका छन् । छोरो अहिले जापानका लागि तयारी गरिरहेको छ । छोरी क्याम्पस पढिरहेकी छ, परीक्षा थियो लकडाउनले रोकियो ।’

२०५२ साल माघमा बिहे हुँदा धर्मा १६ वर्षकी थिइन् । धर्माले श्रीमानको मुखै नहेरी बुवाआमाकै रोजाइका मान्छेसँग बिहे गरेकी थिइन् । माइतीमा सुखशयलमा हुर्केकी उनी बिहेपछि कमजोर आर्थिक स्थितिका कारण समस्यामा परिन् । उनले भनिन, ‘मेरो दाजु सरकारी जागिरे हुनुहुन्थ्यो । बुवाआमाले घरमा काम गर्ने मान्छे समेत राख्नुभएको थियो ।’

‘कामदारलाई एक सिँगो घर नै दिनुभएको थियो । तर, आफू भने आर्थिक स्थिति कमजोर परिवारमा परियो । श्रीमानले गाडी चलाउनुहुन्थ्यो । घरमा उहाँले कहिले पैसा दिनुभएन’ उनले सुनाइन् । तराईमा हुर्केकी उनी बिहे गरेपछि विकट पहाडी जिल्ला बझाङ जानु
प¥यो । त्यहाँ उकाली ओरोली गर्न नसकेपछि उनी तराई झरिन् ।

धनगढीमा घरजग्गा

तराई झरेपछि उनले २०५३ सालमा धनगढी चौराहामा किराना पसल खोलिन् । त्यसको ४ वर्षपछि एकलाख १० हजारमा धनगढी विशालनगरमै तीन कट्टा घडेरी किनन् । त्यसको दोस्रो वर्षमा उनले आफ्नै कमाइले घर निर्माण गरिन् । र, आफ्नै घरमा किराना पसल राखिन् ।
झण्डै १२ वर्ष आफ्नै घरमा किराना पसल सञ्चालन गरिन् । ‘छोराछोरी सानै थिए’, उनले भनिन्, ‘यही किराना पसलबाट मैले धनगढीमा घडेरी किनेर घर लगाएँ । किराना पसलबाटै छोराछोरीलाई स्कुल पढाएँ ।’

उनले थपिन्, ‘श्रीमानले घरव्यवहार धान्न कहिले सहयोग गरेनन् । त्यसपछि श्रीमानले बसको जागिर पनि छोडे, राजनीति कताकता अल्झिए । आफैँले धनगढीमा घरजग्गा जोडेर छोराछोरी हुर्काएँ । स्नातक तहसम्म पढाएँ ।’

किरानापछि घरेलु उद्योग

श्रीमानले भएको जमिन बेचेर गाडी किने । किराना पसल छोडेर उनी छोराछोरीलाई उच्चशिक्षा पढाउन श्रीमानसहित काठमाडौं गइन् । ‘छोरी कलेज जाँन्थिन, म त्यहाँ पनि त्यत्तिकै बसिन, एउटा बुटिकमा काम गर्थेँ’, उनले भनिन्, ‘त्यहाँ महिनाको ९/ १० हजार कमाउँथे । छोरीले त्यतिखेर १२ पास गरिन् ।’ काठमाडौंमा भूकम्प गयो । श्रीमानको कमाइ नहुँदा महँगीले काठमाडौँमा टिक्न सकेनौँ । त्यसपछि छोरीलाई सहरमा एक्लै छोड्न मन लागेन, सँगै धनगढी ल्याएँ ।’

काठमाडौं हुँदा बुटिकसम्बन्धी सिप सिक्न पाएकी उनले छोरीले पनि डिजाइनरको तालिम लिइन् । ‘मेरो सानैदेखि सिप कलातिर ध्यान थियो’ उनले भनिन्, ‘केही देखेपछि सिकिहाल्ने, कसैले सिकाउँनै नपर्ने ।’ छोरीले पनि केही महिना तालिम लिएपछि सहयोग गर्न थालेको बताउँदै उनले भनिन्, ‘त्यसपछि छोरीकै नामबाट उद्योग चलाउन थालेँ ।’

उनले गायत्री डल कुसन गिफ्ट उद्योग सञ्चालन गरिरहेकी छन् । आफूसँग भएको गरगहना बैंकमा राखेर उनले ५० हजारको पूँजीमा उद्योग सञ्चालन गरिन् । गुडिया, डल बनाउन सीपालु उनले त्यसबाट मासिक ४० हजार आम्दानी गर्न थालिन् । त्यसको केही समयमै बैंकमा राखेका गरगहना फिर्ता लिइन् ।

महिलालाई रोजगारी

उनले मासिक ४० हजारभन्दा बढी आम्दानी गरिरहेकी छन् । इच्छुक महिलालाई आफूले सिकेको सीप सिकाइरहेकी छन् । ‘दैनिकजसो किन्न आउने ग्राहक सिक्न खोज्छन् । कोर्षको ३ हजार लिने गरेकी छु’ उनले भनिन, ‘अहिले एक महिलालाई मासिक १८ हजारका दरले रोजगारी दिइरहेकी छु ।’

उनी आफैँले विभिन्न खाले डल, गुडिया, कोठामा डेकोरेसन गर्ने कुसनहरू, सिरानीलगायतका चिजहरू बनाउने गरेकी छन् । ‘मेहनत त धेरै हुन्छ’, उनले भनिन्, ‘कैँचीले काट्नुपर्छ, जम्मा भुवाहरू मुखमा उड्छ । आँखा, नाकभित्र गए त निकै गाह्रो हुन्छ ।’ धर्माले दुःखकष्ट सहेर समाजलाई देखाएको बाटोले सानो लगानीमा पनि केही गर्न सकिन्छ भन्ने प्रेरणा दिएको छ ।

प्रतिक्रिया दिनुहोस्