कम्युनिष्टलाई सिध्याउन ओलीले कसम नै खाएका छन् : युवराज ज्ञवाल « Drishti News – Nepalese News Portal
Logo

कम्युनिष्टलाई सिध्याउन ओलीले कसम नै खाएका छन् : युवराज ज्ञवाल


दृष्टि संवाददाता


रुपन्देही । नेकपा एमालेका नेता युवराज ज्ञवालीले प्रधानमन्त्री ओली कम्युनिष्टको खोल ओढेर कम्युनिष्टलाई सिध्याउन कसम नै खाएको लागेको आरोप लगाएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल समूहले रुपन्देहीमा आयोजना गरेको विस्तारित बैठकमा बोल्दै ज्ञवालीले ओलीलाई प्रधानमन्त्री, पार्टी अध्यक्ष सबैको जिम्मेवारी दिँदा पनि विदेशीको ईशारामा काम गरेको बताए ।

ओली नेपालको कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्न कसम नै खाएर लागेको आरोप समेत ज्ञवालीले लगाए । अदालतले पार्टी एकतालाई भंग गरे पनि अहिले नेपालमा कम्युनिष्टहरुको बहुमत भएकोले माओवादीसगँ मिलेर सरकार चलाउन गारो नभएको जिकिर गर्दै प्रधानमन्त्री ओलीले रेशम चौधरीको मुद्धा बोकेर सरकार बचाउन लागेको उनले बताए ।

त्यस्तै बैठकमा बोल्दै एमालेका नेता घनश्याम भुसालले ओली समूह नेकपा एमाले नै सिध्याउन लागेको बताए । भुसालले ओलीले पार्टी कब्जा गरेर कक्युनिष्ट आन्दोलन सिध्याउन लागेको बताउदै पार्टी एकता जोगाउन सबैलाई आग्रह गरे ।

त्यस्तै विस्तारित भेलाले राजु गुरुङको अध्यक्षतामा २०५ सदस्यीय समानान्तर कमिटी गठन गरेको छ ।

नेपाल पक्षीय जिल्ला कमिटीको उपाध्यक्षमा पुरूषोत्तम घिमिरे, सचिवमा जागेश्वरीदेवी चौधरी र उपसचिवमा सिद्धिचरण भट्टराईलाई जिम्मेवारी दिएको छ । क्षेत्रीय कमिटी, पालिकास्तरीय ईन्चार्ज र जनवर्गीय संगठनमा संयोजक समेत तोकिएको आयोजकले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्