Logo
Logo
समाचार टिप्पणी

एमसीसी पारित गर्ने ओलीको हुटहुटीमा सर्वदलीय बैठक


मिलन लिम्बू


काठमाडौं । पछिल्लो समय प्रचण्ड र केपी शर्मा ओलीको सम्बन्ध पानी बारबार छ । एमाले–माओवादी एकतापछि ‘जेटका दुई पाइलट’ भन्दै दुवैले स्वघोषणा गरे । तर, सम्बन्ध लामो टिकेन ।

प्रधानमन्त्री ओलीले २०७७ पुस ५ गते प्रतिगमन रोजेपछि यी दुई पाइलटको सम्बन्धविच्छेद भयो । आज ‘जार’ सम्बन्धमा परिणत भएको छ ।
ओली प्रतिगमनपछि दुई नेताको संवाद नै टुट्यो । महिना दिन अगाडि ओलीले ‘भेटौँ न’ भन्दै प्रचण्डलाई फोन गरेको हल्ला चल्यो ।

त्यो वास्ताविकता थिएन । तर, शुक्रबार भने ओलीले प्रचण्डलाई साँच्चिकै फोन गरेका थिए । फोनमा ओलीले भनेका थिए, ‘देउवाजी, तपाइँ र म भेटौँ न ।’ ललितपूरको एक कार्यक्रमलाई सम्बोधनका क्रममा प्रचण्ड आफैँले ओलीले फोन गरेको खुलासा गरेका थिए ।

प्रधानमन्त्री ओलीले फोनमा देउवासहित भेटौँ भनेर फोन गरेको केही क्षणमै मिडियामा प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएको खबर फैलियो । प्रचण्ड गम खाए !

प्रत्यक्ष संवादमा देउवासहित भेटौँ न भन्ने तर सर्वदलीय बैठकबारे केही नभन्ने ओलीको नियतसँग रुष्ट भएका प्रचण्डले शनिबारको सर्वदलीय बैठक बहिस्कार गरे ।

प्रचण्डले अहिले किन सर्वदलीय बैठक चाहियो ? भन्दै ओलीले डाकेको सर्वदलीय बैठकको औचित्यमा प्रश्न उठाएको निटक नेताहरुले बताएका छन् । प्रचण्डले भनेका थिए, ‘अहिले सर्वदलीय बैठक बस्नुपर्ने त्यस्तो खास परिस्थिति होइन । त्यसमा पनि टेलिफोनमा देउवासहित भेटौँ न मात्र भनेका थिए । फेरि कहाँबाट आयो सर्वदलीय बैठक ? यो अर्थहित बैठक हो । त्यसैले हामी सहभागी हुनुपर्छ भन्ने छैन ।’

प्रचण्डलाई बालुवाटार एलर्जी !
प्रचण्डलाई ‘बालुवाटार एलर्जी’ छ ! पार्टीमा आन्तरिक संकट चुलिएदेखि नै बारम्बार बालुवाटर बोलाउँदै ओलीले गरेको व्यवहारका कारण प्रचण्डका लागि बालुवाटार एलर्जी भएको हो ।

त्यति नै बेला ओलीले फोनमा ‘देउवासहित बालुवाटरमा भेटौँ न’ भन्दा प्रचण्डले ठाडै अस्वीकार गरेका थिए । जवाफमा प्रचण्डले भेट्ने नै भए सिंहदरबारमा भेटौँ भनेका थिए ।

एमसीसी पारित गर्ने हुटहुटी !
प्रधानमन्त्री ओली कुनैपनि हालतमा अत्याधिक विवादित विषय ‘एमसीसी’ आफ्नै पालामा संसदबाट पारित गर्न चाहन्छन् । तर, राष्ट्रिय सहमतिविना एमसीसी पारित हुने अवस्था छैन । त्यसैले ओली एमसीसी पारित गर्न प्रचण्ड–देउवाको साथ खोज्दैछन् ।

सदनमा टेवल हुन नदिएको भन्दै ओली बारम्बार सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध जंगिदै आएका छन् । शनिबारको सर्वदलीय बैठकमा पनि ओली सभामुखविरुद्ध खनिएका थिए । यसले पनि एमसीसी पारित गर्न ओली प्रचण्ड–देउवाको साथ खोज्दैछन् भन्ने पुष्टि हुन्छ ।

सर्वदलीय बैठकको कथा
प्रधानमन्त्री ओलीले शनिबार अपरझट सर्वदलीय बैठक डाकेका हुन् । प्रचण्डसँग संवाद हुँदासम्म सर्वदलीय बैठकको कुनै गुन्जायस थिएन । तर, प्रचण्डले बालुवाटार नआउने भन्दै ओलीसँग बैठक बस्न अरुची देखाएपछि ओलीले प्रतिशोधको रुपमा सर्वदलीय बैठक बोलाए ।

प्रधानमन्त्रीले अचानक सर्वदलीय बैठक भनेपछि प्रधानमन्त्रीको सचिवालयका सदस्य नै अलमलमा परेको बालुवाटार स्रोत बताउँछ । स्रोतअनुसार शनिबारको सर्वदलीय बैठकममा सहभागी सबै नेतालाई शुक्रबार ढल्नै लाग्दामात्र खबर गरिएको थियो । कतिलाई त खबर नै गरिएन ।

देउवासहित भेट्ने ओलीको चाहना
पछिल्लो राजनीतिक घटनाक्रमले प्रधानमन्त्री ओली दबावमा छन् । आफ्नै सरकार संकटमा परेको बेला गण्डकी प्रदेशमा आफू निकट मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई हटाउन कांग्रेस नेतृत्वमा बनेको मोर्चाले ओलीलाई ठूलै झट्का लागेको थियो ।

कर्णाली विद्रोहबारे ओलीलाई शुक्रबार बिहानै स्पस्ट जानकारी आइसकेको थियो । त्यसैबाट अत्तालिएर ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँगै प्रचण्डसँग भेट्न खोजेका थिए । सोही भेटमा एमसीसी पारित गर्न सहयोग गर्नु पर्यो भन्दै प्रचण्ड–देउवासँग विन्ति बिसाउने ओलीको योजना थियो । तर, त्यो सम्भव भएन ।

के चाहन्छन् ओली ?
आफ्नै पार्टीका नेतालाई भक्काभक कारबाही गर्नु ओलीका लागि ‘आफ्नै हात जगन्ननाथ’ भएको कर्णाली विद्रोहले प्रमाणित गरिसकेको छ । कर्णालीबाट सुरु भएको विद्रोह सिंहदरबार पस्ने कुरामा ओली त्रसित छन् । त्यसैले केही उपायको खोजीमा जुटेका हुन् ।

बारम्बार प्रयास गरेपनि जनता समाजवादी पार्टी (जसपा)को पूर्ण साथ नपाउने भएपछि ओली तनावमा छन् । सरकार टिकाउन आफ्नैबाट घात हुने भएपछि विक्षिप्त छन् ।

त्यसैले ओलीका लागि सरकार, ‘काँधमा बोकेर हिँडेको भालु’जस्तै भएको छ । बोकी राखौँ त थाकेर हैरान, छोडौँ त आफैँलाई चिथोर्ने डर !  त्यसैले वर्तमान संकटबाट ओली ‘सेफ ल्याण्डिङ’ चाहन्छन् । त्यसैको खोजीमा भौतारिका हुन्, प्रधानमन्त्री ओली ।

प्रतिक्रिया दिनुहोस्