Logo
Logo

सरकारलाई दिएको समर्थन फिर्ता गर्न माओवादीको स्थायी कमिटी बैठक बस्दै


दृष्टि संवाददाता


काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले आज स्थायी कमिटी बैठक बोलाएको छ । दिउँसो २ बजे पेरिसडाँडामा बस्ने बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा छलफल हुने नेता देबेन्द्र पौडेलले जानकारी दिएका छन् ।

हिजो मात्र कांग्रेस सभापति शेरबहादुर देउवाले माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता नलिएसम्म नयाँ सरकार बनाउँने प्रक्रिया अघि बढ्न नसक्ने बताएका थिए ।

उता, चितवनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णालीमा जसरी नै केन्द्रमा पनि सरकार परिवर्तनको खेल सुरु हुने बताएका थिए । उनले एमालेबाट ‘फ्लोरक्रस’ गराएर भएपनि नयाँ सरकार बनाउँने दाबी गरेका थिए ।

आज बस्ने माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा निर्णय हुन सक्ने एक स्थायी कमिटी सदस्यले बताए । जनता समाजवादी पार्टी (जसपा)को निर्णय समेत पर्खिएको माओवादी अहिले झलनाथ–माधव नेपाल समूहको साथ पाउँने अवस्था रहेकाले सरकार फेर्न ढुक्क रहेको छ ।

प्रतिक्रिया दिनुहोस्