Logo
Logo

भारतसँग सीमा जोडिएका क्षेत्रमा थप दुई बिओपी स्थापना


दृष्टि संवाददाता


कैलाली । कैलालीमा सशस्त्र प्रहरी बल नेपालको दुई वटा बिओपी स्थापना भएका छन् । जिल्लाको भजनी नगरपालिका–६ मा बिओपी कालापातल र भजनी नगरपालिका–७ मा बिओपी हलौनाघाट स्थापना भएको सशस्त्र प्रहरी बल नेपाल नं ३४ गणको कार्यालयले जनाएको छ ।

सशस्त्र प्रहरी बल, नेपाल नं ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रवीणकुमार श्रेष्ठ र भजनी नगरपालिकाका उपप्रमुख छायाँ देवकोटाले उक्त दुईवटै नयाँ बिओपीको उद्घाटन संयुक्तरुपमा गरे ।

सो अवसरमा सशस्त्र प्रहरी बल, नेपाल नं ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक श्रेष्ठले अहिलेको विषम् परिस्थितिमा सकल दर्जाका राष्ट्रसेवक सुरक्षाकर्मीको काँधमा राज्य र जनताको सेवा र सुरक्षाका खातिर ठूलो जिम्मेवारी आएको बताए ।

उनले सीमा सुरक्षा, अपराध नियन्त्रण र अवैध चोरी निकासी पैठारी नियन्त्रणमा बिओपीको प्रमुख काम भएकाले व्यावसायिक ढङ्गले कार्य क्षेत्रमा खटिन निर्देशन दिए । भजनी नगरपालिकाका उपप्रमुख देवकोटाले बिओपी स्थापनाले सीमा इलाकाका बासिन्दाले सुरक्षित महसुस गरेको र सीमा अपराध नियन्त्रण एवं सीमा सुरक्षा बिओपीले पूरा गर्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं ३४ गण कैलालीका गणपति सशस्त्र प्रहरी उपरीक्षक दीपेन्द्र कुँवर, स्थानीय जनप्रतिनिधिलगायतको सहभागिता थियो । एक सय एक किलोमिटर खुला सिमानामा रहेको कैलाली जिल्लामा १६ बिओपी स्थापना भइसकेको र क्रमिकरुपले बिओपीको सङ्ख्या बढाउँदै लैजाने नीति रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्