Logo
Logo

आफ्ना ‘यार’ पोस्न सरकारले जनविरोधी कार्यक्रम ल्यायो : नेता थापा


दृष्टि संवाददाता


काठमाडौं । सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत बालुवा, गिटी, ढुंगाको भारत निकासी गर्ने कार्यक्रम नेपाली कांगे्रसका नेता गगन थापाले जनविरोधी भएको भन्दै यसको विरोध गर्न सबै पक्षलाई आह्वान गरेका छन् ।

नेता थापाले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘संसद नभएको बेला असंवैधानिक सरकारले अवैधानिक तवरले जस्केलाबाट ल्याएको बजेटमा नेपालको ढुंगा, गिट्टी, बालुवा निकासी गरेर व्यापार घाटा न्यूनीकरण गर्ने कार्यक्रम घुसाएर सरकारले आफ्नो असली अनुहार र घटिया सोच उजागर गरेको छ ।’ उनले वातावरण र चुरे संरक्षणमा सरकार कति असंवेदनशील छ भन्ने प्रस्ट भएको समेत बताएका छन् ।

नेता थापाले आफ्ना ‘यार’लाई पोस्न सरकारले यस्तो कार्यक्रम ल्याएको आरोप लगाउँदै भनेका छन्, ‘आफ्ना ‘यार’लाई पोस्न सरकार कुन हदसम्म गिर्छ भन्ने कुरा पुनः छर्लङ्ग भएको छ । चुरे क्षेत्र तहसनहस पारेर तराईलाई मरभूमीकरण गर्न उद्दत यस्ता प्रयत्नलाई विगतमा संसदीय समितिमा हुँदा पनि पटकपटक रोकेको हो । यसपटक पनि सरकारको यो निर्णय रोकेरै छाड्नेछौं ।’

सरकारले ल्याएको उक्त जनविरोधी कार्यक्रमको विरोधमा उत्रिन जनप्रतिनिधि, आम नागिरक, पत्रकारलगायत सबै सरोकारवालाई उनले आह्वान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्