Logo
Logo

विदेशबाट फर्किनेका लागि सरकारले तोक्यो ७८ होटललाई क्वारेन्टिन


दृष्टि संवाददाता


काठमाडौं । सरकारले विदेशबाट फर्किएका र कोरोना संक्रमण शंकास्पदहरुका लागि ७८ वटा होटललाई क्वारेन्टिनका रुपमा सूचीकृत गरेको छ । क्वारेन्टिन बस्न पर्यटन विभागले होटलको सूची सार्वजनिक गर्दै न्यूनतम मापदण्ड तोकेको हो ।

विभागका महानिर्देशक रुद्रसिंह तामाङका अनुसार कम्तीमा २० वटा कोठा भएको होटललाई क्वारेन्टिनका रुपमा तोकिएको छ । सरकारले वैदेशिक रोजगारीमा गएर नेपाल फर्कनेलाई ५ दिन र अन्य अवस्थामा फर्कने नेपाली र विदेशी नागरिकलाई १० दिन होटल बुकिङको प्रमाण देखाएपछि मात्र नेपाल आउन अनुमति दिने भएको छ । विभागले यसअघि भारतबाट आउने यात्रुका लागि १० वटा होटल तोकेको थियो । तीसँगै अहिले ७८ वटा होटलको सूचि सार्वजनिक गरेको हो ।

महानिर्देशक तामाङका अनुसार क्वारेन्टिन तोकिएको होटलमा स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्नुपर्ने, होटल परिसरभित्र छुट्टै गेट वा कम्पाउण्ड भएको र सकेसम्म घुमफिर गर्न सक्ने खुला स्थान र बगैंचा हुनुपर्छ ।

होटलले सामूहिक रुपमा खाना खाने स्थान, बुफे, जिम, साउना, इण्डोर तथा आउटडोर गेम भने पूर्ण रुपमा बन्द गरेको हुनुपर्छ । नेपाली तथा विदेशी नागरिक विदेशबाट आउँदा पालना गर्नुपर्ने आदेश २०७८ को भने पूर्ण पालना गर्नुपर्ने गरी नियम बनाइएको छ ।

होटल क्वारेन्टिन बसेवापत लिने शुल्क भने सरकारले तारे होटलको तोकेको छैन । ती होटल स्वयंले मूल्य तोक्न सक्ने जनाएको छ । तर पर्यटनस्तरका होटलको दैनिक शुल्क भने ३ हजार रुपैयाँ तोकिएको छ ।

हाल नेपालले पहिलो चरणमा टर्की, कतार, चीन र भारतमा नियमित हवाई उडान सञ्चालनमा ल्याएको छ ।

क्वारेन्टिन तोकिएका होटलहरु
होटल सांग्रिला, होटल -याडिसन, होटल याक एण्ड यती, हायात रिजेन्सी, सोल्टी, अलफ्ट होटल, एभरेष्ट होटल, होटल शंकर, होटल हिमालय, समिट होटल, अमादब्लम होटल, साम्बाला होटल, ले हिमालय, होटल प्लाटिनम, होटल ट्रेडिसनल कम्फर्ट र होटल ल्याण्डमार्कमा क्वारेन्टिन बस्न सक्नेछन् । त्यस्तै, ५१ होटल र बुढानीलकण्ठस्थित पार्क भिलेज र गोकर्ण फरेष्ट रिसोर्ट समावेश छ ।

प्रतिक्रिया दिनुहोस्