Logo
Logo

एमालेमा छुट्टाछुट्टै बैठक : दुवै पक्षको एजेण्डा पार्टी एकता


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेका लगातार एकताको प्रयास जारी छ । तर, त्यो प्रयास सम्भव हुन सकेको छैन । एमालेका अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता झलनाथ खनाल–माधव नेपाल पक्षले आ–आफ्नो अडान नछाड्दा एकता प्रयास असफल भइरहेको एमालेकै नेताहरुले बताउन थालेका छन् ।


मंगलबार बसेको ओली पक्षको स्थायी कमिटी बैठकले पार्टी एकताको प्रयास अन्तिम समयसम्म गर्ने निर्णय गरेको थियो । तर, तथापि, आज बिहीबार एमालेका छुट्टा–छुट्टै बैठक बस्दै छ ।

एमालेका वरिष्ठ नेता खनाल–नेपाल समूहले आज छुट्टै केन्द्रीय कमिटी बैठक बोलाएको छ । बैठक भर्चुअल रुपमा अहिले ११ बजेका लागि तय गरिएको छ । बैठकमा पार्टीलाई एकताबद्ध हर प्रयास गर्ने र त्यसो हुन नसकेमा भावी योजनाबारे छलफल हुने माधव पक्षका एक नेताले बताएका छन् ।

त्यस्तै, बालुवाटारमा ओली पक्षको स्थायी कमिटी बैठक बोलाइएको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले अपराह्न ४ बजेका लागि बैठक बोलाएका छन् । बुधबार बस्ने भनिएको बैठक आज बस्न लागेको हो ।

ओली पक्षका एक नेताका अनुसार एकताको प्रयासका लागि नेताहरुबीच छलफल गर्नका बुधबार बस्ने भनिएको बैठक आज सारिएको हो ।
ओली पक्ष बरिष्ठ नेता खनाल–नेपाल समूहलाई कमजोर बनाउन लागेका छन् । उक्त समूहका दोस्रो तहका नेताहरुलाई तान्ने प्रयास भइरहेको बताइन्छ ।

बुधबारमात्रै उपप्रधानमन्त्री समेत रहेका एमाले महासचिव ईश्वर पोखरेलले खनाल–नेपाल समूहका नेता योगेश भट्टराईसँग छलफल गरेका थिए । उनीहरुबीच पार्टी एकताका विषयमा छलफल भएको बताइएको छ भने अर्कोतिर नेता भट्टराईले ओलीले आफ्नो पक्षमा तान्न खोजिरहेको बताइन्छ ।

अध्यक्ष ओलीले नेता खनाल–नेपालसहितका नेतालाई कारबाही गरेपछि छुट्टै पार्टी गठनको विषय समेत चल्न थालेको छ । एमाले ओली पक्षले खनाल–नेपाल समूहको केन्द्रीय कमिटी बैठक कानुन र विधानविपरीत रहेको भन्दै सहभागी नहुन निर्देशन दिएको छ । त्यसका बाजजुद पनि आज छुट्टाछुट्टै बैठक बस्दैछ ।

आज बस्ने बैठकले पार्टी एकताका लागि भइरहेको प्रयासलाई एउटा निष्कर्षमा पुर्याउने अपेक्षा गरिएको छ । नेता योगेश भट्टराई गोकर्ण विष्टले आफूहरु पार्टी एकताका लागि हर प्रयास गरिरहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्