Logo
Logo

रुपा सुनारविरूद्ध सरस्वती प्रधानले दिइन उजुरी


दृष्टि संवाददाता


काठमाडौं । जातकै कारण कोठा नदिएको आरोप लागेका सरस्वती प्रधानले सञ्चारकर्मी रूपा सुनारविरूद्ध राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएकी छन् ।

बुधबार आफूलाई षड्यन्त्रमुलक तरिकाले फसाइएको भन्दै प्रधानले उजुरी दिएकी हुन् । उनले रूपामाथि कारबाहीको माग गरेकी छन् । उनले रूपालाई कोठा खोज्न सहयोग गर्ने सुष्मा राई र सिर्जना राईलाई पनि कारबाही गर्नुपर्ने माग गरेकी छन् ।

प्रधानले निषेधाज्ञाको समयमा पिसिआर रिपोर्टबिना कोठा खोज्न हिँडेर महामारी फैलाउन खोजेको, अपराधिक कार्यका लागि कोठा खोज्न आएको आरोप लगाएका छन् । उनले आफ्नो मञ्जुरीबेगर फोन रेकर्ड गरेर आफ्नो स्वातन्त्रता हनन गरेको पनि उनले बताएकी छन् ।

उनले भनेकी छन्, ‘नेपाल सरकारले जारी गरेको निषेधाज्ञाको आदेश उल्लंघन गरी र बिना पिसिआर रिपोर्ट खुलेआम आवत् जावत् गरी महामारी फैलाउने मानव विरोधी अपराध गरेको ।रुपा सुनारलाई कोठा आवश्यकता नै नरहेको भएपनि आपराधिक कार्य गर्नका लागि कोठा खोज्न आएको बाहानाबाजी बनाइ मेरो मञ्जुर बेगर मेरो फोन रकर्ड गरी सोही रेकर्ड, प्रमाण सिर्जना गरी मेरो विरुद्ध छुवाछुतको उजुरी दिई गैरकानुनी एवम् मेरो व्यक्तिगत जीवनको स्वतन्त्रता विपरित हुनेगरी पूर्वाग्रहपूर्वक थुनाएको ।’

घरधनी श्रीमान् र सासु भएको भन्दै उनले आफूलाई घर भाडामा लगाउने अधिकार नभएको स्पष्ट पारेकी छन् । आफूलाई घरधनी भनी झुठा आरोप र जालसाजी गरी मानव अधिकार हनन् गरिएको उनको निवेदनमा उल्लेख गरिएको छ ।

सरस्वती प्रधानले सञ्चारकर्मी रुपा सुनारलाई जातिय आधारमा विभेद गरी कोठा नदिएको भन्दै प्रहरीमा जाहेरी रहेको छ । तिनदिन हिरासत बसेर प्रधान छुटेकी थिइन् । सुनारले पनि आफूमाथि विभेद भएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दिएकी छन् ।

प्रतिक्रिया दिनुहोस्