Logo
Logo

माओवादी नेतालाई एमाले विभाजनको चिन्ता !


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमाले विभाजनको संघारमा पुगेको छ । हजारौं नेता कार्यकर्ता पार्टी विभाजनको संघारमा पुग्दा चिन्तित छन् । नेता कार्यकर्तालाई मात्र नभइ विपक्षी दलका नेतालाई समेत एमाले विभाजन हुने खतराको चिन्ता छ ।

नेकपा माओवादी केन्द्रका नेता दिनानाथ शर्माले एमाले विभाजन भए नेपालमा वामपन्थी आन्दोलन नै संकटमा पर्ने भन्दै प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नेकपा एमालेलाई विभाजनबाट जोगाउन आग्रह गरेका छन् ।

राष्ट्रियसभा बैठकलाई सम्बोधन गर्दै नेता शर्माले भने– ‘एमालेको एकता जोगिएन भने नेपालको वामपन्थी आन्दोलन समाप्त हुन्छ । प्रधानमन्त्रीले घमण्ड त्यागेर पार्टी एकता जोगाउनु पर्छ । म आग्रह गर्दछु, प्रधानमन्त्रीज्यू पार्टी जोगाउनुस ।’

नेता शर्माले प्रधानमन्त्री ओलीकै कारण नेकपा खारेज भएको भन्दै प्रधानमन्त्री जिम्मेवार रुपमाप प्रस्तुत नभए एमाले पनि सकिने बताए । उनले भने– ‘प्रधानमन्त्रीले पार्टीलाई समाप्त गर्नुभयो । नेपालको वामपन्थी आन्दोलनलाई नै समाप्त पार्नुभयो । नेकपा विभाजन भएर नेकपा माओवादी केन्द्र अलग भयो, एमाले पनि स्वयं विभाजनको स्थितिमा पुगेको छ ।’

नेता शर्माले प्रधानमन्त्रीले तीन वर्षमा धेरै गल्ती गरेको भन्दै अब आत्मसमीक्षा गर्नुपर्ने समेत बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्