काठमाडौ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक शुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको वैठकमा महासचिव ईश्वर पोखरेलले एजेण्डा प्रस्तुत गरेका छन् ।
शुक्रबार शुरु भएको बैठक शनिबार पनि सञ्चालन भएको हो । उक्त बैठकमा पार्टीको माधवकुमार नेपाल पक्ष भने सहभागी भएको छैन ।
नेकपा एमालेभित्र अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच जारी विवादका कारण केन्द्रीय कमिटी बैठकलाई चासोका साथ हेरिएको छ ।
नेकपा एमाले र माओवादी केन्द्र व्युँतिएपछि यसअघिका बैठकमा सहभागी नभएका उपाध्यक्ष वामदेव गौतमपनि यसपटकको बैठकमा सहभागी भएका छन् र उनले पार्टी एकतामा जोड दिँदै त्यसको जिम्मेवारी आफूलाई दिन आग्रह गरेका छन् ।
पार्टीलाई ९ औं महाधिवेशनबाट निर्वाचित कमिटीमा लैजान २०७५ जेठ २ को अवस्थामा फर्काउनु पर्ने माग नेपाल पक्षले गर्दै आएको छ।
पार्टीमा विवाद जारी रहँदा नेपाल पक्षका २३ जना प्रतिनिधि सभा सदस्यले देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर गरेका थिए। शुक्रबार बालुवाटारमा बसेको एमाले केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष ओलीले हस्ताक्षर फिर्ताका लागि नेपाल समूहलाई ‘डेडलाइन’तोकेका छन्।











